युरोकपः सर्जियो रामोसबिना जित्न सक्ला त स्पेनले?

युरोकपः सर्जियो रामोसबिना जित्न सक्ला त स्पेनले?


युरोकपको समूह चरण अन्तर्गत नेपाली समय अनुसार आज राति १२ः४५ मा स्पेन र स्वीडेन भिड्दैछन्। युरोकप २०२० का लागि टिम छनौट गर्ने क्रममा स्पेनिस टिमका मुख्य प्रशिक्षक लुइस एनरिकेले टिमका ३५ वर्षिय कप्तान सर्जियो रामोस युरोकपमा नखेल्ने बताउँदै फ्यानहरूलाई झड्का दिए। स्पेनलाई दुईवटा युरोकप र एउटा विश्वकप जिताएका डिफेन्डर रामोस देब्रे खुट्टामा भएको चोटपटकका कारण लामो समयदेखि खेलमा जम्न पाएका छैनन्। सन् २०२१ मा रामोस आफ्नो क्लब रियल मड्रिडका लागि ७ वटा खेलमा मात्र सहभागि भएका थिए। 

अहिले रामोस चोटपटकबाट बाहिर आइसकेका छन्। धेरैले उनलाई युरोकपमा स्पेनको नेतृत्वमा फर्किने अपेक्षा गरेका थिए। तर, कोच लुइस एनरिकोले रामोस जनवरीदेखि राम्रोसँग खेल्न र प्रशिक्षणमा सहभागी हुन नसकेका कारण टिममा नअटाएको बताएका थिए। आफू स्पेनका लागि खेल्न नपाएकोमा रामोसले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दुःख पनि व्यक्त गरेका थिए। यो सम्भवतः युरोकपमा उनको अन्तिम सहभागिता हुने थियो।

स्पेनिस क्लब रियल मड्रिडको मेरूदण्डका रूपमा चिनिने रामोस स्पेनको राष्ट्रिय टिमका लागि १८० खेल खेल्दै सर्वाधिक १३१ खेल जिताउने खेलाडी हुन्। २००४ को युरोकप यता उनी पहिलो पटक स्पेनको राष्ट्रिय टिममा छैनन्। 

डिफेन्डर रामोसको ठाउँमा कप्तानी सम्हाल्न लागेका ३२ वर्षिय मिडफिल्डर सर्जियो बुस्केट्समा कोभिड–१९ पोजिटिभ देखिएपछि नखेल्ने भएका छन्। रामोस र बुस्केट्स जस्ता हस्तीहरूको अनुपस्थितिले फ्यानहरूमा एक किसिमको निराशा पैदा गरेको भए पनि स्पेनको टिमबाट यस युरोकपमा आश गर्ने ठाउँ भने अझै पनि छ।

सन् २००८ र २०१२ का बीचमा फुटबलमा एक छत्र राज गरेको स्पेनका पछिल्ला ३ ठूला अन्तर्राष्ट्रिय खेलहरूमा प्रदर्शन फितलो रहेको थियो।

अब स्पेनको नेतृत्व अर्का डिफेन्डर जोर्डी अल्बाले गर्ने भएका छन्। सन् २०१२ यता बार्सिलोनाका लागि खेल्दै आएका अल्बाको डिफेन्समा बार्सिलोनाले ५ वटा ला लिगा, ५ वटा कोपा डेल रे लगायत १६ वटा उपाधी जितेको छ। त्यस्तै उनी सन् २०११ देखि स्पेनको राष्ट्रिय टिमका लागि खेल्दैछन्। यसरी हेर्दा रामोस र बुस्केट्सको अनुपस्थितिमा ३२ वर्षिय अल्बा कप्तानीका लागि अनुभवी पात्र हुन्। रामोस र बस्केट्सको नहुँदा उनी स्पेनिस टोलीका सबैभन्दा पाका खेलाडी पनि हुन्। 

सन् २००८ र २०१२ का बीचमा फुटबलमा एक छत्र राज गरेको स्पेनका पछिल्ला ३ ठूला अन्तर्राष्ट्रिय खेलहरूमा प्रदर्शन फितलो रहेको थियो। २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१६ को युरोकप र २०१८ को विश्वकपमा अन्तिम सोह्रभन्दा माथि उक्लन सकेन। त्यसयता पुराना खेलाडीलाई नयाँ खेलाडीले विस्थापन गर्दै आएका छन्।

कोभिडका कारण कप्तानी सम्हाल्न नपाएका बुस्केट्सका स्वभाविक उत्तराधिकारीका रूपमा हेरिएका २४ वर्षिय रोड्रीले मैदानमा डिफेन्सिभ मिडफिल्ड सम्हाल्नेछन्। म्यान्चेस्टर सिटिका लागि खेल्दै आएका रोड्री टिमका खेलाडीहरूसँग कति दूरी राख्ने र कुन दिशामा पास दिने भन्ने राम्रो ज्ञान भएका खेलाडी हुन्। यसरी हेर्दा रामोस र बुस्केट्सको उपस्थितिबिना पनि रोड्रीका कारण स्पेनको डिफेन्समाथि भर पर्न सकिने अवस्था छ। 

२९ वर्षीय फर्वार्ड जेरार्ड मोरेनो स्पेनका लागि यस युरोकपमा आशावादी हुने सबैभन्दा ठूला कारण हुन्। सन् २०२०–२१ को सिजन मोरेनोको व्यवसायीक फुटबल जीवनको सर्वाधिक सफल सिजन रहन गयो। पछिल्लो सिजनमा आफ्नो क्लब भिल्लारियलका लागि ३० गोल गरेका उनले ला लिगामा मात्रै २३ गोल गरेका थिए। सन् २०१९ यता ला लिगामा चालिस गोलभन्दा माथि गोल गर्ने तीन जना खेलाडीहरूमा मोरेनो पर्छन्। सो अवधीमा मोरेनोले ४१ गोल गर्दा लियोनल मेसीले ५५ गोल र करिम बेन्जेमाले ४४ गोल गरेका थिए। सन् २०२१ को युएफा युरोपा लिग फाइनलमा गोल गरेर उनले आफ्नो क्लब भिल्लारियललाई पहिलो ठूलो ट्रफि दिलाएका थिए। 

पछिल्लो सिजनमा १० पेनाल्टीको अवसरमध्ये १० वटालाई नै गोलमा परिवर्तन गरेका मोरेनो स्पेनलाई आवश्यक परेको बेला पेनाल्टी अवसरलाई गोलमा परिवर्तन गर्न सहयोगी हुने देखिन्छन्। स्पेनका लागि ८ खेलमा ५ गोल गरेका मोरेनोले अन्तर्राष्ट्रिय खेलमा पनि राम्रो प्रदर्शन गर्न अपेक्षा गर्न सकिन्छ।

आक्रामक शैलीका लागि चिनिने २१ वर्षीय फर्वार्ड फेरान टोरेसबाट यसपटक फ्यानहरूले धेरै अपेक्षा राख्ने ठाउँ छ। भ्यालेन्सियाबाट म्यान्चेस्टर सिटी ट्रान्सफर भएका टोरेसलाई ट्रान्सफर भएको १६ दिनमा स्पेनको राष्ट्रिय टिममा छनौट गरिएको थियो। युरोकप सुरु हुनुभन्दा अगाडि स्पेनले गरेको ११ गोलमध्ये ५ गोल टोरेसले गरेका थिए। नोभेम्बरमा जर्मनीसँगको खेलमा स्पेनले ६–० को जीत हासिल गर्दा टोरसले ह्याट्रिक गरेका थिए। उनी च्याम्पियन्स लिगमा लगातार तीन खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन्। 
      
स्पेनलाई २००८ र २०१२ मा युरोकप र २०१० मा विश्वकप जिताउने सर्जियो रामोससहितको ‘गोल्डेन जेनेरेसन’ भनिने पुस्तालाई विस्थापन गर्दै आएको नयाँ पुस्ता ऊर्जाले भरिएको छ। खेलाडीहरूले त्यो उर्जालाई जीतमा कसरी रूपान्तरण गर्छन् भन्ने चाहिँ हेर्न बाँकी नै छ।

युरोकप सुरु हुनु अघिका ६ खेलमध्ये ४ खेल जितेको र २ खेल बराबरीमा टुङ्ग्याएको स्पेनले ६ मा ५ खेल जितेको र एक खेलमा हार ब्यहोरेको स्वीडेनसँग कस्तो खेल्छ भन्ने कुराले रामोस र उनको पुस्ताको अनुपस्थितिमा स्पेनको युरो यात्रा कस्तो हुनेछ भन्ने तय गर्नेछ। रामोसजस्ता पुराना र अनुभवी खेलाडी टिममा नभए पनि राम्रो फर्ममा रहेका युवाहरूको ऊर्जावान टिम भएका कारण स्पेनले स्वीडेनसँगको खेल जित्ने आँकलन स्पोर्ट्स मोल वेबसाइटले गरेको छ। 

Logo