क्रिकेट जर्सी डिजाइन गर्नेलाई माई सेकेन्ड टिचरको एक लाख पुरस्कार

क्रिकेट जर्सी डिजाइन गर्नेलाई माई सेकेन्ड टिचरको एक लाख पुरस्कार

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ।  क्यान र एमएसटीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको हो। 

डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नु पर्ने हुन्छ। कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नु पर्ने विज्ञप्तिमा जनाइएको छ । डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्नु पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्नु पर्ने हुन्छ।     

नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने उद्देश्यले क्यानसँग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनौटको लागि सहकार्य गरिएको माई सेकेन्ड टिचरका सह संस्थापक सुलभ बुढाथोकीले बताए ।

यसमा धेरै भन्दा धेरैले भाग लिने र नेपाली टोलीले सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाउने उनको आशा छ ।  उत्कृष्ट हुने डिजाइन नेपाली टोलीले आगामी दिनमा हुने प्रतियोगिताहरूमा त्यसै अनुरूप प्रयोग गर्नेछ भने उत्कृष्ट डिजाइन गर्नेलाई पुरस्कार स्वरुप नगद एक लाख पनि माई सेकेन्डले प्रदान गर्ने बुढाथोकीले जानकारी दिए । 

क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो। एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कारस्वरुप नगद एक लाख पनि हात पार्नेछ। 

नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोश्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ।

आफ्नो डिजाइन दिने अन्तिम मिति यसै महिनाको १७ तारिखसम्म रहेको छ। डिजाइन क्यानको इमेल [email protected] मा पठाउनु पर्नेछ भने यससम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइटमा पनि राखिएको गिरीले जानकारी दिए।

यसैबीच माई सेकेण्ड टिचरले यसै महिनाको सुरुवातमा आयोजना भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद पाँच लाखका साथै उक्त शृंखलाका क्रममा डेब्यु गर्ने चार जना खेलाडीहरु, कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमलसिंह ऐरीलाई जनही नगद एक लाख केही दिनमा नै  हस्तान्तरण गर्ने भएको छ।

Skip This
Skip This
Logo