युरोकपमा लिगका पहिलो चरण खेलः रोनाल्डोको कीर्तिमानदेखि एरिक्सनको हृदयघातसम्म

युरोकपमा लिगका पहिलो चरण खेलः रोनाल्डोको कीर्तिमानदेखि एरिक्सनको हृदयघातसम्म

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीका कारण एकवर्ष ढिलोगरि शुरु भएको युरोकप २०२० का लिग चरणका पहिलो खेलहरु सकिएका छन् । 

लिग अन्तर्गत पहिलो चरणका खेलहरुले विश्वभरका फुटबल फ्यानहरुमा थप उत्साह बढाएको छ। युरोपेली फुटबलको कुम्भमेला अर्थात मिनि विश्वकप यसपटक ११ मुलुक ११ वटा शहरहरुले होस्ट गरिरहेका छन् । 

पहिलो चरणको खेलको समाप्तिमा ठूला यूरोपेली मुलुकले आफ्नो खेल जितेका छन् । तर पूर्वच्याम्पियन स्पेनले भने सबैलाई निराश बनाएको छ। विश्वभरीका फुटबल फ्यानहरुको समीक्षाका आधारमा पहिलोचरणका खेललाई हेर्दा फ्रान्स र इटालीले धेरैको मन जितेका छन् । त्यसपछि पोर्चुगल तथा बेल्जियम रहेका छन् । 

त्यसो त इंग्ल्याण्ड र नेदरल्याण्डले पनि बलियो प्रतिद्वन्दीविरुद्ध तीन अंक हात पारेका छन् । इंग्ल्याण्डले क्रोएशियालाई एक–शून्यले हराएको थियो भने नेदरल्याण्डले युक्रेनलाई पाँच गोल सम्भव भएको खेलमा तीन–दुइले हराएको थियो ।

सबैलाई निराश बनाएको बलियो टोली स्पेनले पहिलो खेलमै स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँढ्न पुगेको थियो । तर इतिहास हेर्ने हो भने स्पेनले ठूला प्रतियोगितामा सधैं सुस्त शुरुवात गर्ने गरेको छ । 

सन् २०१० को विश्वकप विजेता स्पेनले त्यसबेला आफ्नो पहिलो खेलमा स्वीजरल्याण्डसँग एक–शून्यले पराजित भएको थियो । तर आफूलाई सम्हाल्दै त्यसपछि उसले विश्वकप नै जित्न पुग्यो । ठूला प्रतियोगितामा स्पेनिस टोलीको सुस्त शुरुवात उसको विशेषता जस्तै बनेको छ । 

यूरोकपको पूर्वच्याम्पिन तथा यसपटकको दावेदार मध्येको एक इटालीले पनि उद्घाटन खेलमा घरेलु दर्शकसामु टर्कीविरुद्ध तीन–शून्यको प्रभावशाली जीत दर्ता गरेको छ । 

सबैको अनुमान विपरित इंग्ल्याण्डले वेम्लि रंगशालामा आफ्नो पहिलो खेलमा क्रोएशियाविरुद्ध एक–शून्यको जीत हात पारेको छ । यो खेल धेरैले बराबरीमा सकिने अनुमान गरेका थिए । 

सन् २०१८ को विश्वकपको सेमिफाइनलमा क्रोएशियाले इंग्ल्याण्डलाई दुई एकले पराजित गरेको थियो । त्यसैले पनि यो खेल क्रोएशियाको पक्षमा जाने अनुमान गरिएको थियो । तर घरेलु दर्शकका अघि इंग्ल्याण्डले खेल आफ्नो पक्षमा पार्यो । 

पहिलो चरणको खेलको समाप्तिमा ठूला यूरोपेली मुलुकले आफ्नो खेल जितेका छन् । तर पूर्वच्याम्पियन स्पेनले भने सबैलाई निराश बनाएको छ।

जारी युरोकपमा स्विडेन र युक्रेनले पहिलो चरणबाटै सबैको मन जितेका छन् । स्वीडेनले स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो भने युक्रेन सबैभन्दा प्रतिश्पर्धात्मक बनेको खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो । 

रोनाल्डोका रेकर्ड र विवादास्पद कार्य
युरोकपका सुपरस्टार खेलाडी पोर्चुगिज क्रिष्टियानो रोनाल्डोले प्रतियोगितामा नयाँ रेकर्ड कायम राख्दै आफ्ना फ्यानहरुलाई अर्को खुसी दिएका छन् । जारी प्रतियोगिताको आफ्नो पहिलो खेलबाटै उनले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए । 

यो बाहेक उनीसँग युरोकपका अन्य थुप्रै रेकर्ड छन् । सर्वाधिक पाँच पटक युरोकप खेल्ने यूरोपमा उनी एक्ला खेलाडी हुन् । पहिलो खेलमै उनले हंगेरीविरुद्ध दुई गोल गरे । योसँगै उनले फ्रान्सका पुराना हस्ति खेलाडी मिचेल प्लाटिनीको रेकर्ड तोडेका हुन् । 

प्लाटिनीको कुल गोल संख्या नौ रहेको छ भने रोनाल्डोको ११ पुगेको छ । विश्वभर रहेका उनका फ्यानहरुले रोनाल्डोले आउँदा खेलहरुमा थप गोल गर्नेमा आशावादी छन् ।   

तर विवादबाट रोनाल्डो बाहिर रहन सकेनन् । खेल अघि गरिने पत्रकार सम्मेलनका दौरान उनले आफ्नो टेबलमा राखिएको दुईवटा कोलाकोलाको बोतललाई पन्छाउँदै छेउमै रहेको पानीको बोतल देखाउँदै पानी पिउनु पर्ने बताएका थिए । 

रोनाल्डोको यस किसिमको रवैका कारण युरोकपको प्रमुख प्रायोजकमध्येको एक कोकाकोलाको विश्व ब्यापार एकैदिनमा खस्किन पुगेको छ। बेलायती दैनिक पत्रिका द गार्डियनका अनुसार रोनाल्डोले कोकाकोलाको बोतल पन्छाउँदा कम्पनीको शेयर बजार मुल्यमा एकै दिन चार अर्ब अमेरिकी डलरको गिरावट आएको छ । आफ्नो यस्तो कारणबाट उनले माफी नमाग्ने पनि बताइसकेका छन् । 

विर्सनलायक त्यो रात
पहिलो चरणकै एक खेलका क्रममा एउटा यस्तो अप्रिय घटना घट्यो, जसले विश्व फुटबललाई नै स्तब्ध बनायो । डेनमार्क र फिनल्याण्डको खेलका क्रममा कोपनहेगेनमा घरेलु दर्शक सामु हृदयघात भएर डेनिस स्टार क्रिश्चियन एरिक्सन मैदानमै ढल्न पुगे। 

मैदानमै केही समयको उपचार र पछि अस्पताल लगेर उनको गहन स्वास्थ्य परीक्षण गरेपछि खेलकै दौरान उनलाई हृदयघात भएको पुष्टि भयो। विश्व फुटबलमा अहिलेसम्म यस्तो घटना वीरलै भएको थियो । घरेलु दर्शकका अघि आफ्ना स्टार खेलाडी अचानक लड्दा त्यसले डेनमार्कलाई मात्र होइन, पुरा विश्वलाई स्तब्ध बनायो। 

एरिक्सन अहिले ठिक भइसकेका छन् र आफू चाडै मैदान फर्किनेमा विश्वस्त रहेको उनले अस्पतालकै बेडबाट बताइसकेका छन् । सवा दुई घण्टापछि शुरु भएको यो खेलमा फिनल्याण्डले डेनमार्कलाई एक–शून्य गोलले हराएको थियो। 

अब बुधवार (आज) बाट दोस्रो चरणको खेलको शुरुवात हुँदैछ।

Logo