जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन्। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको युरोकपको समूह चरण अन्तर्गत आज समूह बी र समूह सी को समान दुई दुई खेल हुनेछन्।
समूह सी मा रहेको नेदरल्यान्ड्स र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स समूह सीबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जीत निकालेको थियो। आज नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ। दुई खेलमा ६ अंक जोडेको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ।
यता, नर्थ म्यासेडोनिया भने अंकविहीन रहँदै समूहको पुछारमा रहेको छ। म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो।
यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल पनि ९ः४५ बजे नै सुरु हुनेछ । आज दुबै टिम जीत निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छन् । युक्रेन २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ भने, अष्ट्रिया २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ।
आजै हुने अर्को खेलमा समूह बी मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। बेल्जियम यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ। आज फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ।
यता, फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूह बी को तेस्रो स्थानमा रहेको छ।
यस्तै समूहको अर्को खेलमा रुस र डेनमार्क भिड्नेछन्। दुई टिमबीचको पनि खेल राति १२ः४५ बजे नै सुरु हुनेछ । रुस २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ।
यता, डेनमार्क भने अंकविहीन रहँदै समूहको पुछारमा रहेको छ । डेनमार्कले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो। तर, डेनमार्कको पनि नकआउट चरणमा पुग्ने सम्भावना भने जिवितै रहेको छ।





























प्रतिक्रिया