पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको छ। फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो।
साउथ ह्याम्पटनमा बुधबार दोस्रो इनिङ्समा भारत १ सय ७० रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको थियो । उक्त सामान्य लक्ष्य न्युजिल्याण्डले मात्र २ विकेट गुमाएर पूरा गर्यो।
दोस्रो इनिङ्समा न्युजिल्याण्डका कप्तान केन विलियम्सनले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । रोस टेलर ४७ रनमा अविजित रहे । ओपनर डेभोन कन्वे १९ रन जोड्दा आउट हुँदा टम लाथम ९ रनमा आउट भए । भारतका रविचन्द्र आश्विनले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय १७ रन बनाएको थियो।
पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए । शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए । भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए।
त्यस्तै ट्रेन्ट बोल्ट र निल वाग्नेरले २/२ विकेट लिए । पहिलो इनिङ्समा न्युजिल्याण्ड पनि २ सय ४९ रन जोड्दा अलआउट भएको थियो । न्युजिल्याण्डका लागि पहिलो इनिङ्समा ओपनर डेभोन कन्वेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । टम लाथम ३० रन जोडेर आउट भए ।
कप्तान केन विलियम्सनले ४९ रन जोड्दा टम लाथम ३० रन जोडेर आउट भए । टिम साउथीले ३० रन जोड्दा केली जेमिसन २१ रन बनाए । भारतका मोहमद शामीले ४ विकेट लिए । इशान शर्माले ३ तथा रविचन्द्र आश्विनले २ विकेट लिए। न्युजिल्याण्डका बलर चम्किएपछि दोस्रो इनिङ्समा पनि भारत सस्तैमा समेटिएको थियो।
भारतका ऋषव पन्तले सर्वाधिक ४१ रन बनाए । रोहित शर्माले ३० रन जोड्दा रविन्द्र जडेजाले १६ रन बनाए । अजिन्का रहाणे र चेतेश्वर पुजारा समान १५ रनमा आउट हुँदा कप्तान विराट कोहली र मोहमद शामी समान १३ रनमा आउट भए।
न्युजिल्याण्डका टिम साउथीले ४ विकेट लिए । ट्रेण्ड बोल्टले ३ तथा केली जेमिसनले ३ विकेट लिए । उपाधिसँगै न्युजिल्याण्डले १.६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको भारतले ८ लाख अमेरिकी डलर प्राप्त गरेको छ।





























प्रतिक्रिया