‘एमबाप्पे’सँगै युरोकपमा ठूला टोलीको निराशा

‘एमबाप्पे’सँगै युरोकपमा ठूला टोलीको निराशा

केन्द्रबिन्दु
0
Shares

तीन वर्ष अघि अर्थात सन् २०१८ मा फ्रान्स र उसका स्टार फरवार्ड खेलाडी किलियन एमबाप्पे विश्व फुटबलको सर्वोच्च शिखरमा थिए। फ्रान्सले त्यतिबेला क्रोएशियालाई पराजित गर्दै विश्वकप उपाधी जित्दा महत्वपूर्ण भूमिका खेलेका एमबाप्पेलाई फुटबलका सुपर स्टारद्वय लियोनल मेस्सि र क्रिष्टियानो रोनाल्डोसँग तुलना गरिएको थियो । त्यो बेला एमबाप्पे मात्र १९ वर्ष पुग्दै थिए । 

तर तिनै एमबाप्पेले सोमबार राति आफ्नो राष्ट्रिय टोलीका लागि चाहिएको बेला महत्वपूर्ण क्षणमा गोल गर्न चुकेका छन् । जसले गर्दा युरो २०२० मा प्रमुख दावेदार मानिएको फ्रान्स युरोपको मध्यमस्तरको टोली स्विजरल्याण्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

विश्वकप जितेका बेला एमबाप्पे प्रतियोगिताकै सर्वोकृष्ट युवा खेलाडी चुनिएका थिए । तर तीन वर्षपछि उनी राष्ट्रिय टोलीका लागि भिलेन मात्र भएनन्, जारी युरोकपमा खेलेका चार खेलमा एक  गोल पनि गर्न नसकि घर फर्किए । 

फ्रान्सको यसपटकको प्रदर्शनलाई पेरिसबाट निस्कने प्रख्यात फुटबल म्यागेजिन एलइक्विपले शिखरबाट झरेको भन्दै आलोचना गरेको छ । आलोचनाले भरिएको उक्त लेखको शिखरमा उनै एमबाप्पे रहेका छन् । 

उक्त म्यागेजिनले एमबाप्पेलाई मेस्सि र रोनाल्डोको स्तरमा पुग्न सक्ने खेलाडी ? भन्दै प्रश्नसमेत गरेको छ । यो हार समग्र फ्रान्स फुटबलकै लागि बिर्सन लायक क्षण त बन्यो नै, एमबाप्पेको करियरमा पनि ठूलो असफलता रह्यो । 

युरोकप सुरु हुनु अघि धेरैको अनुमान एमबाप्पे नै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने थियो । उनले गत सिजन आफ्नो क्लब पीएसजी र राष्ट्रिय टोलीका लागि ४१ गोल गरेका थिए । त्यस्तै प्रदर्शन गर्नेमा उनका प्रशंसक ढुक्क थिए । तर त्यस्तो केही भएन । 

फ्रान्सले युरोमा खेलेका चार खेलमध्ये कुल सात गोल गर्यो । चारै खेल खेलेका एमबाप्पेले विपक्षीको पोष्टमा १४ प्रहार गरेपनि एक गोल पनि गर्न सकेनन् । न त उनले स्विजरलण्डविरुद्धको अन्तिम पेनाल्टीलाई गोलमा सदुपयोग नै गर्न सके । 

अनौठो त तब भयो, जब ग्रुप अफ डेथ मानिएको टोलीका सबै ठूला मुलुक प्रि–क्वाटरफाइनलमै पराजित हुँदै घर फर्किए। 

यस प्रतियोगिताको निराशाजनक प्रदर्शनबाट स्वयं एमबाप्पेलाई पनि मेस्सि अथवा रोनाल्डोजस्तो बन्ने सपनामा ठेस लागेको छ । तर यी सबैकुरालाई बिर्सदै उनी फेरि उष्कृष्ट लयमा फर्कने विश्वास प्रशिक्षक डिदिएर डेसच्याम्पले गरेका छन्। 

ग्रुप अफ डेथको दुःख
जारी युरोकप सुरु हुनु अघि सम्म सबैको नजर समूह एफमा रहेको थियो । आधिकारिक रुपमा ‘ग्रुप अफ डेथ’ नभनिए पनि यो समूह आखिरमा ग्रुपअफ डेथ सरह नै थियो ।

प्रतियोगिताको नियम अनुसार समूहमा तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोली पनि नकआउट चरणमा प्रवेश गर्ने हुनाले समूह एफमा रहेका फ्रान्स, जर्मनी र पोर्चुगल माथि जाने सबैको विश्वास थियो । भयो पनि त्यस्तै । यो समूहको चौथो टोली हंगेरी अभागी सावित भयो । तर अनौठो त तब भयो, जब ग्रुप अफ डेथ मानिएको टोलीका सबै ठूला मुलुक प्रि–क्वाटरफाइनलमै पराजित हुँदै घर फर्किए । 

डिफेण्डिगं च्याम्पियन पोर्चुगल बेल्जिमसँग, फ्रान्स स्विजरल्याण्डसँग र जर्मनी इंग्ल्याण्डसँग पराजित भए । समूहअन्तर्गतका नौ खेलमा यो समूहबाट कुल २० गोल भएका थिए । जुन अन्य समूहको भन्दा धेरै हो । त्यसैले यही समूहकै एक टोलीले युरोकपको उपाधी जित्नेमा धेरैको विश्वास थियो । 

क्वाटरफाइनल समिकरण
अब प्रतियोगितामा सबैको ध्यान क्वाटरफइनलका खेलमा छ । अन्तिम आठका खेलमध्ये पनि धेरैको ध्यान बेल्जियम र इटालीको खेलमा छ । जारी प्रतियोगितामा बाँकी रहेका युरोपका उत्कृष्ट दुई टोली पनि यिनै हुन् । 

यी दुई टोलीले समूहचरणमा खेलेका तीनवटै खेलमा स्पष्ट जीत हासिल गरेका छन् । बेल्जियमको सबैभन्दा सबल पक्ष यसको मिडफिल्ड हो भने इटाली परम्परागतरुपमै आफ्नो डिफेन्स लाइनमा निर्भर रहेको छ । धेरैको विश्वास यिनै दुईमध्ये एक टोलीले युरोकप २०२० को उपाधी जित्ला भन्ने नै छ । 

अर्को क्वाटरफाइनलमा स्विजरल्याण्डले पूर्व च्याम्पियन स्पेनको सामना गर्नेछ । स्पेन युवा टोलीका साथ मैदान उत्रिरहेको छ। जारी प्रतियोगितामा स्पेनको खेलमा एकरुपता देखिन सकेको छैन । स्विजरल्याण्डसँग भने विश्वकप विजेता फ्रान्सलाई हराएको जोश हुनेछ। 

तेस्रो क्वाटरफाइनलमा चेक रिपब्लिकले डेनमार्कको सामना गर्नेछ । यी दुबै टोलीले आफ्ना पछिल्ला खेलहरु सुधार्दै लगेका छन्। दुबैको आँखा अब अन्तिम चारका खेलमा हुनेछन्। 

यस्तै अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डले युक्रेनसँग खेल्नेछ । ५६ वर्षपछि जर्मनीलाई कुनै पनि प्रमुख प्रतियोगितामा हराएर लयमा देखिएको इंग्ल्याण्डको युवा टोलीले युक्रेनलाई पन्छाए सेमिफाइनलमा उसले चेक रिपब्लिक र डेनमार्कबीचको विजेताको सामना गर्नेछ । त्यसैले पनि इंग्ल्याण्डलाई यसपटक फाइनलमा पुग्ने ठूलो आशा गरिरकेको छ। 

यदि इंग्ल्याण्ड उपाधी नजिक पुगे त्यो आफैंमा एउटा इतिहास बन्नेछ । किनभने सन् १९६६ को विश्वकप जिते यता इंग्ल्याण्ड कुनैपनि ठूला प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन। 

Logo