३२ औं संस्करणको टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा मेक्सिकोको यू–२३ टिमले फ्रान्सको यू–२३ टिमलाई पराजित गरेको छ। बिहीबार भएको खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
समूह ‘ए’ मा रहेको मेक्सिकोलाई जीत दिलाउन एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा, कार्लोस अन्टुना र एड्वार्डो अग्युरेले एक एक गोल गरे। फ्रान्सका आन्द्रे पीएरेले एक गोल फर्काए।
यस्तै समूह ‘बी’ को न्युजिल्याण्डले दक्षिण कोरियालाई १–० ले पराजित गरेको छ । समूह ‘सी’ को स्पेन र इजिप्टले गोलरहित बराबरी खेलेका छन् ।
जापानको टोकियो शहरमा आयोजना भएको ओलम्पिक शुक्रबारबाट भने औपचारिक रुपमा उद्घाटन हुँदैछ । तर फुटबल खेल भने दुई दिन अघि नै सुरु भएको छ।
फुटबल किन उद्घाटन अघि नै सुरु हुन्छ?
ओलम्पिक दुई साता मात्र चल्ने छोटो प्रतियोगिता हो। तर, फुटबल प्रतियोगिता गर्नका लागि धेरै समय चाहिन्छ । ओलम्पिकमा महिलातर्फ २६ र पुरुषतर्फको ३२ खेल हुन्छ। त्यसले गर्दा फुटबल टिमले खेलतालिका अनुसार विभिन्न शहरमा ट्राभल गर्नुपर्ने हुन्छ। त्यसैले दुई साताभित्रै खेल सकिन कठिन हुने भएकाले उद्घाटन अघि नै फुटबल सुरु हुने गर्छ।
ओलम्पिक फुटबलमा किन यू–२३ टिम खेलाइन्छ ?
फुटबल विश्वकै सबैभन्दा चर्चित खेल हो । फुटबलको आफ्नै ठूलो प्रतियोगिता फिफा विश्वकप हुन्छ । त्यसैले फिफा विश्वकप र ओलम्पिकबीच सबैभन्दा महत्वपूर्ण प्रतियोगिता बन्ने होडबाजी हुन्छ । जसकारण फिफाले विश्वकप विश्वकै ठूलो फुटबल प्रतियोगिता कायम राख्न ओलम्पिकमा सिनियर टिम खेलाउन रोकेको हो।
सन् १९८४ मा यस नियमलाई केही खुकुलो बनाइयो । यदि कुनै खेलाडीले विश्वकप खेलेका छैनन् भने उसले ओलम्पिक खेल्न पाउने थियो । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा खेल्नका लागि सबै खेलाडी २३ वर्ष मुनिको हुनुपथ्र्यो । तर सन् १९९६ को एटलान्टा ओलम्पिकमा भने २३ वर्ष माथिका ३ खेलाडी पनि राख्न पाउने नियम बनाइयो।
अहिले पनि त्यही नियम कायम छ । यसपटक भने यू–२३ को सट्टा यू–२४ टिमले ओलम्पिक खेल्न पाउनेछन् । कोभिड–१९ का कारण ओलम्पिक एक वर्षपछि सरेकाले एक वर्ष अघि नै खेल्न सक्ने खेलाडीलाई अहिले पनि अवसर दिइएको हो।
जुलाई २१ देखि अगष्ट ७ सम्म सञ्चालन हुने ओलम्पिक फुटबलमा पुरुषतर्फ साविक विजेता ब्राजिलसहित १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिलातर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन्।





























प्रतिक्रिया