यसरी बनाइयो पुराना फोन, ल्यापटप पुन:प्रयाेग गरेर टोकियो ओलम्पिकको पदक

यसरी बनाइयो पुराना फोन, ल्यापटप पुन:प्रयाेग गरेर टोकियो ओलम्पिकको पदक


कुनै पनि कुरालाई यसै खेर जान दिनुभन्दा पुन:प्रयाेग गर्नु उचित हुन्छ । तर, पुन:प्रयाेगबारे जानकारी र सो जानकारीको व्यवहारिक प्रयोगबीच ठूलो खाडल रहेको पाइन्छ। 

टोकियो ओलम्पिकले पुराना स्मार्टफोनको पुन:प्रयाेग गरेर ठूलो उदाहरण प्रस्तुत गरेको छ, त्यो पनि मेडल बनाउनका लागि। यसरी पुन:प्रयाेगको विधिबाट सबै पदक बनाउने जापान पहिलो राष्ट्र हो। पुराना स्मार्टफोनको प्रयोगबाट स्वर्ण, रजत र कास्य गरी ओलम्पिकमा दिइने जम्मा ५ हजार पदकहरू निर्माण गर्यो। 

यस अघि सन् २०१६ को रियो ओलम्पिकमा स्वर्ण र रजत पदक बनाउन चाहिने स्टर्लिङ सिल्भरको ३० प्रतिशत कारका पाटपुर्जा र ऐनाजस्ता पुराना वस्तुबाट प्राप्त गरिएको थियो। 

टोकियो २०२० को आयोजक समितिले सर्वसाधारणलाई पुराना विद्युतीय उपकरण दान गर्न आह्वान गरेको थियो। सोही आह्वानअनुसार त्यस्ता उपकरण संकलनको कार्यक्रम दुई वर्षसम्म चल्यो। यो कार्यक्रममा जापानका ९० प्रतिशत सहर र गाउँलले पुराना उपकरण संकलन केन्द्र खडा गरे, जसमार्फत् लाखौँ जापानी नागरिकले पुराना उपकरण दान गरे।

पुन:प्रयाेग अभियानले ३२ किलो सुन, ३ हजार ४ सय ९२ किलो चाँदी र २ हजार १ सय ९९ किलो कास्य संकलन गर्यो। ८० टन तौलका पुराना फोन र ल्यापटपबाट यी धातु प्रशोधन गरेर पदक तयार गरिएकोे थियो। 

पुन:प्रयाेग हेर्दा सहज प्रक्रिया देखिए पनि यसमा राष्ट्रिय सरकारदेखि हजारौँ नगर, कम्पनी, स्कुल र अन्य स्थानीय समुदाय सहभागी भएका कारण त्यति ठूलो मात्रामा धातु संकलन भएको हो। 

सन् २०२४ को ओलम्पिक फ्रान्सस्थित पेरिसमा हुन गइरहेको छ, जहाँ वातावरण मुख्य ‘थिम’ हुने बताइएको छ। पुन:प्रयाेगबाट सबै मेडल बनाएर टोकियो ओलम्पिकले त्यसका लागि प्रस्थान विन्दु तयार गरेको छ।

 सन् २०१९ मा प्रतिव्यक्ति ७.३ किलो विद्धुतीय फोहोर उत्पादन भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले देखाएको छ। 
(‘डिडब्लु डट कम’ र ‘इन्साइडर’ को सहयोगमा) 

 

 

Logo