एसियन कपका छनोट खेल नेपालमा नहुने

एसियन कपका छनोट खेल नेपालमा नहुने

केन्द्रबिन्दु
0
Shares

एएफसी महिला एसियन कप २०२२ को छनोट खेलअन्तर्गत समूह एफका खेलहरु नेपालमा आयोजना नहुने भएको छ । 

एएफसीले गत महिना सार्वजनिक गरेको समूह तालिकाअनुसार नेपालसँगै हङकङ र फिलिपिन्स रहेको समूह ‘एफ’ को खेल नेपालमा हुने भनिएको थियो । तर अहिले भने प्रतियोगिता नेपालबाट सर्ने भएको छ ।

नेपालमा कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सहभागी अन्य राष्ट्रले यसबारे एएफसीलाई लेखेपछि खेल सर्ने भएको हो । एएफसीले आफ्नो वेबसाइटबाट पनि खेल हुने स्थान र मिति तय हुन बाँकी रहेको जनाएको छ । यसै साताभित्र नयाँ खेल स्थलबारे जानकारी दिइने जनाइएको छ ।

यसअघि छनोटबाट उत्तर कोरियाले सहभागिता जनाउन नसक्ने भन्दै नाम फिर्ता लिएको थियो । त्यस्तै तुर्कमेनिस्तानले पनि शुक्रबार एएफसीलाई सहभगिता जनाउन नसक्ने भन्दै जानकारी दिएको छ । अब यी राष्ट्र सम्मिलित दुवै समूहमा ३–३ राष्ट्र बाँकी रहेका छन् । ८ समूहमा प्रतिस्पर्धा हुने छनोटबाट शीर्ष टोलीहरु अन्तिम चरणमा प्रवेश गर्नेछन् ।

एएफसी एसियन कप जनवरी २० देखि २०२२ फेब्रुअरी ६  मा भारतमा हुनेछ । प्रतियोगिताका लागि साविक विजेता जापान, उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीनसँगै आयोजक भारतले स्थान पक्का गरिसकेका छन् । 

नेपाली टोलीले हाल प्रतियोगिताको तयारीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स यसै साता प्रशिक्षणमा फर्किसकेका छन् । सुरुवाती केही साता सहायक प्रशिक्षक अरुणा गुरुङ, चेतन घिमिरे, भगवती थापा र श्रीप्रकाश वैद्यले टोलीको प्रशिक्षण सम्हालेका थिए ।
तस्विर स्रोतः एन्फा

Logo