महिला फुटबल टोलीले भदौ चौथो साता बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

महिला फुटबल टोलीले भदौ चौथो साता बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने


  • रमेश सुवेदी

राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल  खेलाउने भएको हो। 

एन्फा महासचिव इन्द्रमान तुलाधरले बंगलादेशले नेपाली टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निर्णय भएको बताए। ‘बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निर्णय भएको छ,’ तुलाधरले न्युज कारखानासँग भने। 

उनका अनुसार नेपालले सेप्टेम्बर ९ र १२ तारिख (भदौ २४ र २७ गते) मा बंगलादेशसँग खेल्नेछ। यता, पुरुष टोलीले पनि भदौ १७ र २० गते भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। 

एन्फाले दुई मैत्रीपूर्ण खेल फरक फरक स्थानमा खेलाउने तयारी गरेको छ। दुई खेलमध्ये एक भने दशरथ रंगशालामा खेलिनेछ। अर्काे खेल भने पोखरामा खेलाउने एन्फाको तयारी छ। तर, चेन्जिङ रुमलगायत पूर्वाधारका कामले पूर्णता नपाएकाले त्यहाँ खेल हुने सम्भावना कमै छ। 

महासचिव तुलाधरले पोखरामा खेल खेलाउने सम्भावना रहेको र पूर्वाधार निर्माणका कामले पूर्णता पाए पोखरा रंगशालामा एक खेल हुने बताए। यदि पोखरा रंगशाला तयार नभएमा दुवै मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ। ‘एक खेल दशरथ रंगशालामा हुनेछ । अर्काे पोखरामा खेलाउने तयारी गरेका छौं। यद्यपि पोखरा रंगशाला तयार नभएमा दुवै खेल काठमाडौंमा हुनेछ,’ महासचिव तुलाधरले भने। 

दर्शकको बारेमा भने एन्फाले अहिले नै कुनै निर्णय लिएको छैन। यदि सरकारले दर्शकका लागि स्वीकृत दिए दर्शक रंगशाला प्रवेश गराउने एन्फाको तयारी छ। हाल एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप), खेलकुद मन्त्रालय हुँदै सिसिएमसीमा स्वीकृतिका लागि पत्र पठाएको छ। ‘सरकारको स्वीकृतिको पर्खाइमा छौं । अहिले नै दर्शकको बारेमा भन्न सक्ने अवस्था छैन। यदि सरकारले स्वीकृत दिएमा दर्शक रंगशालामा प्रवेश पाउनेछन्,’ तुलाधरले भने। 

हाल नेपाली महिला टोली सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा तयारीमा व्यस्त छ। नेपालका लागि अस्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार मात्रै २३ सदस्यीय टोली घोषणा गरेका छन्। उनले पहिलोपटक टोलीमा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन्। नेपालको उमेर समूहबाट खेलेका प्रीति राई, निशा थोकर, सविता राना मगर, रजनी थोकर, रश्मि घिसिङ, सृजनासिंह ठकुरी र विकला बिकले पहिलोपटक स्थान बनाएका हुन्। 

प्रशिक्षक ग्यारीले विभाग बाहिरका क्लबबाट तीन खेलाडीलाई मौका दिएका छन्। विभाग बाहिरबाट चन्द्रपुर नगरपालिका (रौतहट) की सविता राना र रजनी थोकर छन् भने विराटनगरबाट सृजनासिंह ठकुरीले टोलीमा स्थान बनाएकी छिन्। 

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने उपलब्ध हुने छैनन्। कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गराइरहेकी  उनी अहिले पनि उतै छिन्। 

नेपाल र बंगलादेशबीच पछिल्लो तीन वर्षमा दुईपटक भेट भएको छ। जसमा नेपालले आफ्नो दबाब बंगलादेशविरुद्ध बनाएको छ। एक खेल नेपालले जितेको छ भने अर्काे खेल बराबरीमा टुंगिएको थियो। 

नेपालले एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो भने पछिल्लो साफ च्याम्पियनसिपमा बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। 

विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक एक गोल गर्दा बंगलादेशकी मासुराले आत्मघाती गोल गरेकी थिइन्। 

पछिल्लो १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने बंगलादेशले भाग नै लिएन। सागमा रजत पदक जितेपछि नेपाली टोली अन्तर्राष्ट्रिय खेलविहीन छ। सागपछि नेपाली टोली र प्रशिक्षक ग्यारी फिलिप्सका लागि यो मैत्रीपूर्ण खेल पहिलो हुनेछ। 

नेपाली टिम :
गोलरक्षक : अञ्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ
डिफेन्डर : अमृता जैशी, विमल बिक, गीता राई, हीराकुमारी भुजेल, निशा थोकर, पूजा राना, पुनम जर्घामगर, सृजनासिंह ठकुरी, विमला चौधरी
मिडफिल्डर : अनिता बस्नेत, दीपा राई, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, रेनुका नगरकोटी, इन्दिरा राई, सविता राना, सरु लिम्बू
स्ट्राइकर : अनिता केसी, रश्मि घिरिङ, रजनी थोकर ।न्युज कारखानाबाट

Logo