जापानको राजधानी टोकियोमा हुने तय भएको टोकियो म्याराथुन प्रतियोगिता अर्को वर्ष हुने गरि सरेको छ। अर्को वर्ष सन् २०२२ को मार्चमा हुनेगरी प्रतियोगिता पछाडि सारिएको आयोजकहरूले शुक्रबार जानकारी दिएका छन्।
कोरोना भाइरसको महामारी र टोकियोमा जारी प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रतियोगिता पछाडि सार्नु परेको आयोजकले जनाएकाे छ। जापानमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको देखिए पनि महामारीको खतरा भने बाँकी नै रहेको अधिकारीहरूको निश्कर्ष छ।
“कोरोना भाइरसको महामारी थप फैलिन सक्ने देखिएकाले अर्को वर्ष सन् २०२२ को मार्च ६ तारिखमा हुनेगरी टोकियो म्याराथुन २०२१ सरेको छ,” टोकियो म्याराथुन फाउण्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
प्रतियोगिता सुरुमा यसै वर्ष सन् २०२१ को मार्चमा हुनेगरी तय गरिएकोमा कोभिड–१९ को कारण आगामी अक्टोबरका लागि सारिएको थियो। तर टोकियोमा अहिले पनि संकटकाल लागू भइरहेकाले प्रतियोगिता फेरि सार्नु परेको हो।
प्रतियोगितामा ३८ हजार धावकहरू सहभागी हुने गरि नामावली आइसकेको आयोजकले जानकारी दिएको छ।





























प्रतिक्रिया