इटालियन सिरी ए फुटबलः युभेन्ट्स पराजित, रोमा र इन्टर विजयी

इटालियन सिरी ए फुटबलः युभेन्ट्स पराजित, रोमा र इन्टर विजयी

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन्। 

बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग पराजित हुँदा रोमाले कागलियरीलाई पराजित गर्‍याे भने इन्टर मिलनले १० खेलाडीमा सीमित इम्पोलीलाई पराजित गरेको हो। 

घरेलु मैदान टुरिनमा युभेन्ट्स सासोउलोसँग २-१ गोल अन्तरले पराजित भएको हो। खेलको ४४औँ मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ७६औँ मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै युभेन्ट्सलाई १– १ गोलको बराबरीमा फर्काए।

त्यसपछि खेलको इन्जुरी समयमा म्याक्सिम लोपेजले गोल गर्दै सासोउलोलाई २–१ को जीत दिलाए।

जीतसँगै सासोउलोले १० खेलमा १४ अंक जोडेको छ। सासोउलो नवौं स्थानमा छ। पराजित युभेन्ट्सले १० खेलमा १५ अंक जोड्दै सातौ स्थानमा छ।

इन्टरले भने डानिलो र फेडेरिको मिमार्काेको गोलमा इम्पोलीलाई २-० गोल अन्तरले पराजित गरेकाे छ। जीतसँगै इन्टर १० खेलबाट २१ अंक सहित तेस्रो स्थानमा छ। 

रोमाले एक गोलले पछि परको स्थिति उल्टाउँदै रोगर इबानेज र रोलेन्जो पेलग्रिनीको गोलमा कागलियरीलाई २-१ गोल अन्तरले पराजित गर्‍याे। घरेलु टोली कागलियरीको लागि लिओनार्दाे पाभालिटोले खेलको ५२ मिनेटमा अग्रता दिलाएका थिए। जीतसँगै रोमा १९ अंकका साथ चौथो स्थानमा छ। 

बुधबार राति नै भएका अन्य खेलमा लाजियोले फिओरेन्टिनालाई १–० गोल अन्तरले हरायो। एटलान्टाले सम्पाडोरियालाई ३–१ गोल अन्तर तथा उडिनेस र हेलास भेरोनाले १–१ को बराबरी खेले।  

Logo