युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद् कार्यालयको अनुगमन गरेका छन् । राष्ट्रिय युवा परिषद्को अध्यक्ष समेत रहेका मन्त्री गहतराजले शुक्रवार भक्तपुर ठिमी स्थित परिषद्को कार्यालयमा पुगेर अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गानासहितका कर्मचारी तथा युवा परिषद्का सदस्यहरूले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यस क्रममा मन्त्री गहतराजले कार्यालय भवन तथा युवा परिषद् अन्तर्गतका ६ वटा शाखाको निरीक्षण गरेका हुन् ।
निरीक्षण पछि कर्मचारी तथा पदाधिकारीहरूलाई निर्देशन दिदैं मन्त्री गहतराजले युवा परिषद्लाई युवाहरूको केन्द्रका रूपमा स्थापित गर्न प्रतिबद्ध भएर काम गर्न आग्रह गरे । ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रूपमा रहेको युवा परिषद्ले युवाहरूको मनोविज्ञान बुझेर योजनाहरू तर्जुमा गर्नुपर्ने बताउँदै उनले भने, “भविष्य बोकेका युवाहरूको मनोविज्ञान तथा भावना बुझेर दीर्घकालीन योजनाको खाका तयार गर्नुहोस् ।”
पछिल्लो समय ठुलो मात्रामा युवाहरू बिदेसिने गरेको तर्फ ईगित गर्दै उनले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न नयाँ ढंगले सोच्नुपर्ने आवश्यक रहेको बताए । “युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्” उनले भने, “स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशील युवाहरूबाट उत्प्रेरीत हुने गरी अन्य युवाहरूलाई समेत स्वदेशमै रोक्नेखालका योजनाहरू अगाडी बढाउनुहोस् ।”
साधन स्रोतका कारण कुनै पनि योजना सञ्चालनमा समस्या हुने अवस्था आउन नदिने प्रतिबद्धता जनाउँदै मन्त्री गहतराजले सामान्य कर्मचारी भन्दा माथि उठेर देशभरका युवाहरूलाई सपना देखाउने व्यक्तिका रूपमा आफूलाई उभ्याउन कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।
अहिलेकै अवस्थामा युवाहरू बिदेसिने हो भने आगामी ३० वर्षभित्र नेपालमा युवाहरूको खडेरी पर्ने अवस्था आउने खतरा बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।































प्रतिक्रिया