उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज आइतबार तीन खेल हुँदैछन्। नवलपरासीको गैंडाकोट र दाङको तुलसीपुर नगरपालिकाले समूह 'एफ'मा विजेताको हैसियतका लागि आज पहिलो खेलमा बिहान ९ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा गर्नेछन्।
समूहमा १-१ खेल जितेका गैंडाकोट र तुलसीपुर दुवैको खातामा समान तीन अंक छ। दुई खेलमा पराजय भोग्दै समूहको अर्को टोली हेटौंडा उपमहानगरपालिका प्रतियोगिताबाट बाहिरिइसकेको छ।
दोस्रो खेलमा समूह ‘जी’ अन्तर्गत कैलालीको गोदावरी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबीच दिउसो १२ बजे प्रतिस्पर्धा हुनेछ। यस समूहबाट दुई खेलमा अंकविहीन रहेको पोखरा महानगरपालिका बाहिरिसकेको छ।
यसैगरी आइतबारको अन्तिम खेल समूह ‘एच’ अन्तर्गत गोकर्णेश्वर नगरपालिका र धनकुटा नगरपालिकाबीच दिउसो तीन बजे हुनेछ।
गोकर्णेश्वरले पहिलो खेलमा धनगढी उपमहानगरपालिकासँग बराबरी खेलेको थियो। एक जीत र एक बराबरी खेलेको धनगढी चार अंकसहित समूहको शीर्ष स्थानमा छ।
अहिलेसम्म समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन्।
उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्। उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन्। साथै फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।































प्रतिक्रिया