रोनाल्डाेले गरे युनाइटेडको उद्धार, भिल्लारियल पनि विजयी

रोनाल्डाेले गरे युनाइटेडको उद्धार, भिल्लारियल पनि विजयी

केन्द्रबिन्दु
0
Shares

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले युईएफए च्याम्पियनन्स लिगमा हार टारेको छ। 

मंगलबार राति इटालीयन क्लब एटलान्टासँग २–१ गोल अन्तरले पछि परेको स्थितिमा रोनाल्डोले ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै युनाइटेडलाई हारबाट उद्धार गरेका हुन्। रोनाल्डोको गोलसँगै इटलीमा भएको खेलमा २–२ को बराबरी खेल्दै दुबै टोलीले एक-एक अंक बाँडेका छन्। 

घरेलु टोली एटलान्टाका जोसिप इलिकिकले खेलको १२ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–१ को स्थितिमा ल्याए। 

यसपछि ५६ मिनेटमा डुभान जापाटाले गोल गर्दे पुनः एटलान्टालाई २–१ को अग्रता बनाए। तर ९० मिनेट पछिको इन्जुरी समयमा रोनाल्डोले युनाइटेडको लागि बराबरी गोल फर्काए। 

बराबरीसँगै समूह ‘एफ’ को खेलमा ४ खेलबाट २ जित १ बराबर र १ हारका साथ ७ अंक बनाएको युनाइटेड दोस्रो स्थानमा छ। 

दुई पटकसम्म अग्रता बनाएर पनि बराबरीमा रोकिएको एटलान्टा ४ खेलमा १ जीत, २ बराबर र १ हारका साथ ५ अंक बनाएर तेस्रो स्थानमा छ। 

समूह ‘एफ’को खेलमा स्पेनिस क्लब भिल्लारियलले स्विस क्लब योङ ब्वाईलाई २–० गोल अन्तरले पराजित गरेकाे छ।  

घरेलु मैदानमा भिल्लारियललाई जीत दिलाउन एटिएन कापोइले खेलको ३६ र अर्नाउट डान्जुमाले ८९ मिनेट दोस्रो गोल गरे। 

जीतसँगै भिल्लारियल समूह  ‘एफ’ मा ४ खेलबाट २ जित १ बराबर र १ हारका साथ ७ अंक बनाएर शीर्ष स्थानमा छ। सामान अंक भएपनि युनाईटेड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। पराजित योङ ब्वाई ४ खेलबाट १ जित र ३ हारका साथ पुछारमा छ। 

Logo