ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न भएको खेलमा ललितपुरले मोफोसलको टोली शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सुरुआतबाट नै हाबी भएको ललितपुरले पहिलो हाफमा गरेका चार गोल नै जितका लागि पर्याप्त भएका थिए ।
ललितपुरले अन्तिम चारमा स्थान बनाउने क्रममा कप्तान निर्मला विकले ह्याट्रिक गरिन् । निर्मलाले छैटौँ मिनेटमा गोल गर्दै अग्रता निकाल्दा २२औँ मिनेटमा दोस्रो र ३५औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल थप्दै ह्याट्रिक पूरा गरेकी थिइन् । यस्तै मनिसा शेनले ४३ औँ मिनेटमा चौथो गोल गर्दै टोलीलाई पहिलो हाफमा ४–० को अग्रता दिलाउन सफल भइन् । त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलमा दुवै टोलीबाट थप गोल हुन सकेन र ललितपुरले अन्तिम चारमा स्थान पक्का गर्यो ।
छनोट खेल अन्तर्गत आजै सम्पन्न दिनको दोस्रो खेलमा धनगढी उपमहानगरपालिकाले बाँसगढी नगरपालिकामाथि गोलको वर्षा गर्दै अन्तिम चारमा स्थान बनायो । धनगढीले बाँसगढीमाथि १२–१ को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । फराकिलो जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमा ७ तथा दोस्रो हाफमा ५ गोल थपेको थियो । विजयी शिवसताक्षीले फाइनल प्रवेशका लागि गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टोलीको भिडन्त भोलि हुँदै छ । दिनको पहिलो खेल गौरीगंगा नगरपालिका कैलाली र इलामको रोङ गाउँपालिका तथा गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।































प्रतिक्रिया