सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज केसीको प्रशिक्षणमा रहेको सातदोबाटोले छिमेकी थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्ष डिभिजनको लिगमा पहिलो जित निकालेको हो।
सातदोबाटोको जितमा सुदीप गुरुङले निर्णायक गोल गरे। ३०औं मिनेटमा अजयी मार्टिनको ‘कटब्याक‘ पासमा सुदीप गुरुङले पेनाल्टी बक्सबाहिरबाट हानेको प्रहारमा थ्री स्टारका गोलकिपर गुइलाउमे प्रिसो मूकदर्शक बनेका थिए।
गत बर्ष पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोको यो पहिलो जित हो। अघिल्लो खेलमा सातदोबाटो फ्रेन्डससँग बराबरीमा रोकिएको थियो। खेलसँगै प्रशिक्षक मेघराजले आफ्नो पूर्वक्लबबिरुद्ध जित निकाल्न सफल भए।
थ्री स्टारको भने यो पहिलो हार हो। लिगको पहिलो खेलमा थ्री स्टार च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित भएको थियो। बाँकी समय दुबै टोलीले गोलको केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा एक शून्यले अग्रता लिएको सातदोबाटो दोस्रो हाफमा झनै आक्रमक बनेको थियो । गोलको तीनवटा राम्रो अवसर सिर्जना गरे पनि सातदोबाटोका फरवार्डले गोलमा परिणत गर्न सकेनन् ।
७२औं मिनेटमा मार्टिनले पेनाल्टी बक्सभित्रबाट हानेको प्रहार थ्री स्टारको गोलकिपर प्रिसोले बचाइदिएका थिए । त्यसअघि निरज चौधरीले प्रहारलाई पनि प्रिसोले बचाइदिएका थिए । ८२औं मिनेटमा थ्री स्टारका विक्रम लामाले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ प्रहार थोरैले आकाशिएको थियो। विक्रमले निशान खड्काको कर्नर प्रहारमा हेडिङ गरेका थिए।
जितसँगै दुई खेलबाट ४ अंक बनाएको सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ। आजै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्दैछन्।































प्रतिक्रिया