एन्फाको आयोजनामा आज (शुक्रबार) बाट पाँचौ चरणका खेलहरु हुँदैछन्। दशरथ रंगशालामा हुने पहिलो दिनका दुई खेल १ बजे र पौने पाँच बजे सुरु हुनेछ।
पहिलो खेलमा नवप्रवेशी सातदोबाटोले साविक उपविजेता आर्मीलाई चुनौती दिँदैछ। जारी लिगमा सुरुआती ३ खेलमा सातदोबाटो निकै लयमा रह्यो। शीर्ष डिभिजन लिग पहिलो पटक खेलेको उसले अन्तिम चौथो खेलमा मात्रै हार बेहोरो थियाे। आर्मी भने अन्तिम २ खेलबाट मात्रै आफ्नो लय समात्ने प्रयासमा छ।
पाँचौ चरणमा दुबै टोली तीन अंक जोड्ने दाउमा छन् । खेल निकै नै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। मान बहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा छ।
भरत खवासको कप्तानीमा रहेको अपराजित आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। आर्मी सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा छ।
लिगको दोस्रो खेलमा साविक विजेता मछिन्द्रलाई संकटाले चुनौती दिनेछ। रवि सिलवालको कप्तानीमा रहेको संकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ। मछिन्द्र ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ।
साँझ हुने खेलमा संकटा मछिन्द्रलाई हराएर अप्रत्यासित नतिजा दिने दाउमा हुनेछ । युवा प्रशिक्षक बिष्णु गुरुङको साथ पाएको संकटाले युवा र अनुभवी खेलाडीको साथ मछिन्द्रलाई सहज जितबाट बञ्चित गराउने योजनामा छ।
यता, संकटालाई हराएर सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्र शीर्ष स्थान कायम राख्न चाहन्छ। राष्ट्रिय टोलीका अधिकांश खेलाडीलाई समेटेको मछिन्द्र अपराजित यात्रा कायम राख्दै एएफसी कपमा छनोट हुने दाउमा हुनेछ।































प्रतिक्रिया