कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ। मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको जानकारी दिए। विजेता टिमले नगद रु १२ लाख ५५ हजार र उपविजेताले नगद रु छ लाख पाँच हजार पाउने पत्रकार सम्मलेनमा जानकारी गराइयो।
त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले रु २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद रु २५ हजार दिइने आयोजकले जनाएको छ। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु नौ हजार ९९९ पाउनेछन्।
प्रतियोगितामा यहाँका ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुङ्गो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए। प्रतियोगिता सञ्चालनको लागि रु एक करोड ४० लाख लागत अनुमान गरिएको छ। महासचिव पौडेलको नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरिएको छ।





























प्रतिक्रिया