गण्डकी प्रदेशमाथि ४० रनको जित निकाल्दै बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
टियु मैदानमा बागमतीले दिएको १४४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रन मात्र जोड्न सक्यो ।
गण्डकीका कमल परियारले सर्वाधिक ११ रन जोडे। यसबाहेक विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रन जोडे।
बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले समान दुई विकेट लिए । यस्तै रिन ढकाल, प्रतिश जिसी र रामनरेश गिरीले समान एक विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङमा आएको बागमतीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको थियो।
बागमतीका विपिन आर्चायले सर्वाधिक ३० रन बनाएका थिए। विपिनले १९ बलमा तीन चौका प्रहार गरे। त्यस्तै सुवास खकुरेल र प्रतिश जिसीले सामान २७ रन जोड्दा लक्की कठायतले टोलीको खातामा १७ रन थपेका थिए।
गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले समान दुई विकेट लिए। यस्तै अशोक श्रेष्ठ, सुभास भण्डारी र कमल परियारले एक/एक विकेट हात पारेका थिए।
बागमतीले समूह ‘बी’ को उपविजेता रूपमा सेमिफाइनलमा स्थान बनाएको हो। बागमतीले चार खेलमध्ये तीनमा जित र एकमा हारको नतिजासहित ६ अंक जोड्यो।
तीन खेल खेल्दासम्म अंकविहीन रहेको कर्णाली तालिकाको पुछारमा छ। यसअघि नेपाल पुलिस र एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेका छन्।































प्रतिक्रिया