श्रीलंका भ्रमणमा रहेको नेपालको राष्ट्रिय टिम पहिलो अभ्यास खेलमा विजयी भएको छ। पहिलो अभ्यास खेलमा नेपालले श्रीलंकाको नाभी क्लबलाई १११ रनले पराजित गरेको हो।
२१५ रनको लक्ष्य पछ्याएको श्रीलंकन क्लब २८.५ ओभरमा मात्र १०३ रनमा अलआउट भयो । नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे ।
नेपाललाई फराकिलो जित दिलाउने क्रममा क्याप्टेन सन्दीप लामिछानेले ३, ज्ञानेन्द्र मल्ल र विक्रम सोबले समान २-२ तथा करण केसी, कमलसिंह ऐरी र सागर ढकालले समान १-१ विकेट लिए।
यसअघि पहिला व्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै २१४ रनको योगफल तयार पारेको थियो। कमजोर सुरुवात गरेको नेपालका लागि मध्यक्रमका व्याट्सम्यानले उल्लेख्य पारी खेलेका थिए।
दीपेन्द्रसिंह ऐरीले ४३, आसिफ शेखले ३६, विनोद भण्डारीले २२, करण केसीले १६ र कमलसिंह ऐरीले १५ रन बनाए । कुशल भुर्तेल, रोहितकुमार पौडेल र सागर ढकाल समान १३ तथा सन्दीप लामिछाने ११ रनमा आउट हुँदा विक्रम सोब ११ रनमा नटआउट रहे।
'लिग-टू' को तयारीका लागि श्रीलंकामा रहेको नेपालले स्थानीय क्लबसँग थप तीन वटा अभ्यास खेल खेल्नेछ।































प्रतिक्रिया