बेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो

बेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई  ३-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

बुधबार राति घरेलु मैदान सान्तियागो बार्नाबेउमा पुनरागमन जितसहित स्पेनिस लिग लिडर रियल  समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भयो। रियलको जितमा कप्तान बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरालमा ह्याट्रिक पूरा गरे।

खेलको ३९ औं मिनेटमा किलीयन एमबाप्पेले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाएका थिए। पहिलो लेगमा १-० को अग्रता लिएको पीएसजी यस गोलसँगै सहज जित तर्फ अग्रसर भएको थियो।

तर ६१ औं मिनेटमा बेन्जेमाले पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले गरेको गम्भीर गल्तिको फाइदा उठाउँदै बराबर गोल गरे। उनले  भिनिसियस जुनिअरको पास सदुपयोग गरे।

७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे। जहाँ पीएसजीका कप्तान मार्किन्होस गल्ती गर्न पुगेका थिए। गोलको सेलेब्रेसन पूरा नहुँदै अर्को मिनेटमै पुनः बेन्जेमाले ह्याट्रिक पूरा गरे। 

रियलको जितसँगै ट्रान्सफर मार्केटमा च्याम्पियन्स लिग जित्न ठूलो लगानी गरेको पीएसजी प्रतियोगिताको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ। उसले यस सिजन मात्रै टोलीमा लियोनल मेस्सी, सर्जियो रामोस लगायत खेलाडी भित्र्याएको थियो।

अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ लिस्बनको खेल गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगमा निकालेको ५-० अन्तरको जितका साथ सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ।

Skip This
Skip This
Logo