भैरहवामा उपप्रमुख महिला कप प्रतियोगिता सुरु

भैरहवामा उपप्रमुख महिला कप प्रतियोगिता सुरु

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थनगर उपप्रमुख तेस्रो महिला कप प्रतियोगिता नगर परिक्रमा गरि सुरु भएको छ। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नारासहित २०७६ सालबाट आयोजना हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करण आजबाट सुरु भएको हो। 

महिलालाई पुरुषसँग प्रतिस्पर्धा गाह्रो हुने, समानता, सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै युवा महिलालाई लक्षित गरेर अहिले तेस्रो पटक प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बताइन्। पहिलो वर्ष भलिबल, तेक्वान्दो र वक्तृत्वकला प्रतियोगिता गत वर्ष दुई समूहमा वर्गीकरण गरि साना भाइबहिनीको सहभागितामा थप दौड, रिले दौड, लङजम्प, सटपुटको विधामा प्रतियोगिता आयोजना गरिएको थियो। यस वर्ष ती खेललाई यथावत् राखी चित्रकला र हाजिरीजवाफ थपिएको उपप्रमुख काफ्लेले बताइन्।

सिद्धार्थनगर नगरभित्र रहेका ७३ वटै विद्यालय, मदरसा तथा शैक्षिक संस्थालाई सहभागिताका लागि पत्र पठाइएको थियो। विद्यालयका छात्राले खेलमा सहभागिता जनाएको खेलको व्यवस्थापकीय जिम्मा पाएको सामूहिक विद्यालय परिवारका अध्यक्ष मनोज यादवले बताए। यो वर्ष तीन तहमा विभाजन गरेर प्रतियोगिता गराइँदैछ, कक्षा ४ सम्मको एक समूह, ५ देखि ८ सम्मको एक समूह र ९–१० को एक समूह छ। खेलतर्फ भलिबल, एथलेटिक्समा दौड, लंगजम्प, सटपुट र प्राज्ञिक तर्फ बकृत्वकला, हाजिरीजवाफ, चित्रकला प्रतियोगिता रहेको अध्यक्ष यादवले बताए।

प्रतियोगिताको उद्घाटन पूर्व नगर परिक्रमा गरिएको थियो। प्रमुख अतिथि संविधान सभा सदस्य आदित्य नारायण कसौधनले उद्घाटन गर्दै बालबालिकालाई गुणस्तरीय मानसिक र शारीरिक शिक्षा दिँदै सम्पूर्ण विकासको संकल्प बालबालिकालाई बनाउने बताए। उनले खेलकुदमा महिलाको पहुँचलाई सुनिश्चितता गर्न, विद्यालयका छात्रामा सिप कला कौशल प्रदर्शन गर्न यो प्रतियोगिताले भूमिका खेल्ने बताए। 

भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको र्‍याली खेल मैदान स्थल संघीय इकाई प्रहरी कार्यालय परिसरमा पुगेर मार्च पास गरेको थियो। सिद्धार्थनगर नगरपालिकाको आयोजना र सामूहिक विद्यालय परिवारको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताका विजेताले सिल्ड सहितको नगद पुरस्कार पाउनेछन्।  

गत वर्षको उपाधि मनकामना स्कुल र नालन्दाले पाएका थिए, उनीहरूको प्राप्ताङ्क अंक समान भएकोले ६–६ महिना सिल्ड राख्ने सहमतिमा उपाधि दिइएको थियो।

Logo