युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमको आक्रामक ब्याटिङप्रेरित नेपालले त्रिदेशीय टी–२० शृंखलामा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल खडा गर्याे।
नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाए।
त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए। यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे ।
यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भए। पीएनजीका कबुअ मोरेआले तीन विकेट लिए। त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुअ र नोसैना पोकनाले समान एक विकेट लिए। नेपाल आजको खेल जित्दै एक खेल अगावै फाइनल पुग्ने योजनामा छ।































प्रतिक्रिया