काठमाडौं ।
नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना बीमा गरेको छ ।
विश्वमा महामारीको रुपमा कोरोना फैलिएसँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना विमा गराएको हो । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आई.एच.एफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना बीमा गरिएको संघका महासचिव सन्देश रेग्मीले जानकारी दिए ।
‘हामीले पहिलो चरणमा १ सय १९ जनाको बीमा गरेका छौं’ महासचिव रेग्मीले भने–‘अझै करिव ५० जना छन्, एकै पटक नाम संकलनका लागि समस्या भएकोले यो साता भित्रै सबैको बीमा गर्दैछौं ।’ सबै प्रदेश र जिल्लाहरुबाट बीमा गर्न छुटेका खेलाडीहरुको नाम संकलन गर्ने काम भइरहेको समेत उनले बताए ।
संघले जुनियर तथा सिनियर लेभलमा केही वर्षदेखि यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको कोरोना बीमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताए । उनले कोभिड १९ का कारण समस्यामा भएका खेलाडीहरुलाई समेत राहत बाड्नका लागि सबै जिल्लाहरुबाट नाम संकलन कार्य भइरहेको बताउँदै यसका लागि आर्थिक बिनियम समेत संघले तयार पारिसकेको जानकारी दिए ।
अन्तर्राष्टिय ह्याण्डबल महासंघ (आई.एच.एफ) ले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्ध लड्न र नेपालको ह्याण्डबल खेल विकासका लागि भन्दै ६ हजार स्वीस फ्र्यान्क नेपाल ह्याण्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताए ।





























प्रतिक्रिया