राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको विवादलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएर छानबिन गर्ने भएको छ।
मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेट्दै छानबिन गर्ने आश्वासन दिएका हुन्। श्रोतका अनुसार एन्फा अध्यक्ष शेर्पाले छानबिन समिति बनाउने र त्यसले चारदिनभित्र निष्कर्ष निकाल्ने र प्रतिवेदन बुझाउने बताएका हुन्।
यसअघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए।
मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भने खेलाडीहरू खबर नगरी क्याम्पबाट भागेको टिप्पणी गरिरहेका छन्। सोही विषयमा खेलाडीहरूले पनि पत्रकार सम्मेलेन गर्दै निष्पक्ष छानविनको माग गर्दै आएका थिए ।
यसअघि खेलाडीले प्रशिक्षकको व्यवहारका कारण १३ गते होटेल छाडेका थिए। त्यसको स्पष्टीकरण दिन १५ गते पत्रकार सम्मेलन गरेका थिए । यसपछि प्रशिक्षक अब्दुल्लाहले असन्तुष्ट रहेका खेलाडीले आफूलाई कुनै जानकारी नदिइ टिम छाडेको बताउँदै खेलाडीलाई एसियन कप छनोटमा सहभागीता नगराउने बताएका थिए ।
यस्तै खेलाडी संघ र असन्तुष्ट खेलाडीले १९ वैशाखमा एन्फा महासचिवलाई निष्पक्ष छानबिनको लागि पत्र बुझाएका थिए।





























प्रतिक्रिया