आईसीसी पुरुष विश्वकप लिग २ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज बिहान सकिएको खेलमा अमेरिकाले नेपाललाई ३९ रनले हराएको हो । अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४७.४ ओभरमा २०६ रनमा समेटियो । कमजोर बनेको नेपालको इनिङ्स आरिफ शेख र सोमपाल कामीले उकासेका थिए । छैटौ विकेटका लागि आरिफ र सोमपालले १०६ रनको साझेदारी गरे । माथिल्लो क्रमका व्याट्सम्यान सस्तोमै पभेलियन फर्कँदा नेपाल ९३–५ को कमजोर अवस्थामा पुगेको थियो । आरिफले सर्वाधिक ६३ र सोमपालले ४७ रन जोडे । देव खनालले ३४, आसिफ शेखले १८ र रोहितकुमार पौडेलले १६ रन बनाए । कुशल भुर्तेल १० र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । अमेरिकाका सौरभ नेत्रभाल्कर र अली खानले समान ३ तथा नोसथुस किन्जीगे र निसर्ग पटेलले एक एक विकेट लिए । देव र सोमपाल रनआउट भएका थिए ।
यसअघि टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४५ रनको योगफल तयार पारेको थियो । गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाएको अमेरिकाको इनिङसमा सुशान्त मोदानीले ५४, आरोन जोनेसले ४३ र सैतेजा मुक्कामालाले ३६ रन बनाए । नेपालका करण केसीले ३, सन्दिप लामिछानेले २ तथा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एकएक विकेट लिए । करण प्लेयर अफ द सिरिज समेत घोषित भए ।





























प्रतिक्रिया