नेपाली क्रिकेट प्रशिक्षकको रुपमा मनोजको यात्रा: चुनौति र अवसर

नेपाली क्रिकेट प्रशिक्षकको रुपमा मनोजको यात्रा: चुनौति र अवसर


नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै भारतका मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

पूर्व प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो कार्यकाल बाँकी छदै नेपाली क्रिकेटबाट राजीनामा दिएपछि क्यानले ५९ वर्षीय भारतीय स्टार अलराउन्डर प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको भुमिका सुम्पिएको हो । 

पुबुदु दासानायकेले राजीनामा दिएपछि मुख्य प्रशिक्षकविहीन बनेको नेपाली क्रिकेट टोलीले अर्को महिना केन्या भ्रमण गर्ने सेड्युल बनिसकेकाले क्यानले सर्ट लिस्टमा परेका प्रशिक्षकहरुको नाममध्येबाट हतारहतार प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी दिईयो । तर सफल खेलाडीसँगै विवादास्पद छवी बनाएका प्रभाकरसामू आफ्नो १ वर्षे कार्यकाल अवधिभर नेपालको एक दिवसीय मान्यतालाई टिकाइ राख्ने मुख्य चुनौती छ । मनोज प्रभाकरले टेस्ट र एकदिवसीय दुवै खेलमा ओपनिङ ब्याट्सम्यान तथा ओपनिङ बलरका रूपमा सबैभन्दा धेरै खेल खेल्दै विश्व कीर्तिमान बनाएका छन् । यसैगरी उनले आफ्नो प्रशिक्षणमा अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोली, दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसिएसनलाई रणजी ट्रफी पनि जिताएका छन् ।

आफ्नो समयको चर्चित अलराउण्डर प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । तर, भारतका पूर्व अलराउण्डर प्रभाकर क्रिकेट जगतमा विवादरहित नाम भने होइन् । उनी म्याच फिक्सिङ (खेल मिलेमतो) लगायतका विवादमा तानिएका थिए ।
सन् १९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरमा पूर्णविराम लागेको थियो । सचिनसँगै ओपनिङ गरेपनि उनी ७ रनमै आउट भएका थिए । सचिनको १ सय ३७ रन अविजित र कप्तान मोहम्मद अजहरुद्दीनको ७२ रनको सहयोगमा भारतले ३ विकेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो । श्रीलंकाले ८ बल अगाडि नै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रभाकरले त्यसबेला घरेलु मैदानमै ४ ओभरमा ४७ रन खर्चेका थिए । त्यो समय विश्व क्रिकेटकै सर्वाधिक विष्फोटक ब्याटरको रुपमा चर्चित सनाथ जयसूर्याले तेस्रो ओभरमै प्रभाकरलाई २२ रन प्रहार गरेपछि उनको करिअर त्यहीबाट सकिएको थियो । त्यो खेलपछि भारतको टोलीमा उनले पुन मौका पाएनन् । त्यसैले उनलाई जयसूर्याले करिअर सकाएका अलराउन्डर समेत भनेर चिनिन थालियो ।

म्याच फिक्सिङ’ को आरोप    

मनोजले भारतीय क्रिकेटका लिजेन्ड कपिल देवलाई ‘म्याच फिक्सिङ’ गर्न २५ लाख भारू अफर गरेको आरोप लगाएका थिए । त्यतिमात्रै होइन् रवि शास्त्री, सुनिल गावस्कर, किरण मोरे, नवजोत सिंह सिद्धुजस्ता खेलाडीहरूले पनि ‘म्याच फिक्सिङ’ गरेको भन्दै ‘स्टिङ अपरेसन’ नै चलाए । मुद्दा अदालत पुग्यो र अनुसन्धान सुरू भयो । मनोजले खेलाडीहरुका धेरै टेपहरू अदालतमा उपलब्ध गराए । तर उनैले वेस्ट इन्डिजविरूद्वको खेलमा म्याच फिक्सिङ गरेको भन्दै अदालतले उनी विरुद्ध फैसला सुनायो । अदालतमा उनी नै म्याच फिक्सिङमा संलग्न पाइएपछि उनलाई भारतीय टोलीको लागि क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाइएको थियो । 

म्याच फिक्सिङमा उनीमात्र परेनन । उनीसँगै तत्कालिन कप्तान अजरुद्दिन, अजय जडेजा, दक्षिण अफ्रिकाका ह्यान्से क्रोने पनि म्याच फिक्सिङमा मुछिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले म्याच फिक्सिङ गरेका यी सबै खेलाडीलाई आजीवन क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको थियो । दिल्ली उच्च अदालतले जनवरी २००२ मा जडेजाको प्रतिबन्ध खारेज गरेपछि उनी घरेलु क्रिकेट खेल्न फर्केका थिए । २००९ मा कांग्रेस सांसदको रूपमा निर्वाचित अजहरले आन्ध्र प्रदेश उच्च अदालतमा निवेदन दिए । जसले उनको आजीवन प्रतिबन्ध हटेको थियो । आइसीसीबाट प्रतिबन्ध फुकुवा भएपछि प्रभाकरले आफूलाई क्रिकेटमै व्यस्त राखे । उनले आफ्नो क्षमताअनुसारै बलिङतर्फ प्रशिक्षण दिन शुरु गरे । 
सन् २०११ मा उनले सार्वजनिक रूपमा खेलाडी र चयनकर्ताहरूको आलोचना गरेपछि दिल्ली क्रिकेट टीमबाट उनलाई कोचिंगको भूमिकाबाट पनि बर्खास्त गरेको थियो ।
 

प्रशिक्षण अनुभव

प्रतिबन्ध हटेसँगै उनले दिल्ली रणजी टोलीको प्रशिक्षकको भूमिका पनि निर्वाह गरे । उनी सन् २००७–०८ को रणजी ट्रफीमा गौतम गम्भीर कप्तान रहेको दिल्ली टोलीलाई प्रशिक्षण गराए । उनी राजस्थान र उत्तर प्रदेशका रणजी ट्रफीका लागि बलिङ प्रशिक्षक बनेका थिए । सन् २००८ मा उनकै प्रशिक्षणमा दिल्लीले रणजी ट्रफी जितेको थियो । सन् २०११–१२ मा रणजी ट्रफी सम्बन्धमा विवादास्पद टिप्पणी गरेपछि उनी बर्खास्तीमा परे । उनको बलिङ प्रशिक्षणमा रहेको अफगानिस्तानसँग सन् २०१६ को टी–२० विश्वकपमा वेस्ट इन्डिज पराजित भएको थियो । पछि वेस्ट इन्डिज टी–२० विश्वकप च्याम्पियन बनेको थियो ।
त्यसपछि उनी सन् २०१५ मा अफगानिस्तान टोलीको बलिङ प्रशिक्षकमा नियुक्त भए । उनको प्रशिक्षणको क्रममा अफगानिस्तान टोलीका खेलाडीले राम्रो बलिङ गर्दै सन् २०१६ मा भारतमा भएको टी–२० विश्वकप खेलेको थियो ।
मनोजलाई विवादबाट बाहिरिएर हेर्दा उनलाई ९० को दशकको भारतीय क्रिकेट टोलीको उत्कृष्ट अलराउन्डर मान्न सकिन्छ । उनै मनोजलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक वर्षका लागि मुख्य प्रशिक्षकमा सोमबार नियुक्त गरेको छ । ९० को दशकका उत्कृष्ट खेलाडी उनी अहिले आएर प्रशिक्षकको रूपमा उत्तिकै उत्कृष्ट बन्छन या बन्दैनन हेर्न बाँकी छ ।

Logo