राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदसंगै उभिएपछि…

राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदसंगै उभिएपछि…


राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षका सांसदले उठेर सदन अवरुद्ध गराएलगत्तै सत्ता पक्षका सांसद समेत उठेर विरोध जनाएका छन् । 

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले आफ्ना कुरा राखेपछि एमाले सांसद विमला राई पौडेलले सुन प्रकरणको छानबिनका लागि समिति गठनको माग यथावत रहेको भनेसंगै एमाले सांसद उठेर विरोध गरेका थिए । 

लगत्तै सत्ता पक्षका सांसदसमेत उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमिल्सिनाले पटक पटक बस्न आग्रह गर्दै कार्यसूची अघि बढाउन सहयोगका लागि आग्रह गरे । उनले सत्ता पक्षका सांसद समेत उठेपछि हाँस्दै भने- ‘कि उठी उठी बैठक चलाउने ? नयाँ अभ्यास सुरु गर्ने होकी !’ 

‘जसरी एकसाथ उभिनु भएको छ । त्यसैगरी एकसाथ बसिदिनुहोस् । म माननीय ज्यूहरुलाई आग्रह गर्छु । ’उनले थपे, ‘अघि बढाउन हाम्रा केही कार्यसूची केही लामो समयदेखि रोकिएका छन् । यसलाई अगाडि बढाऔं ।’ 

तर, झण्डै १० मिनेट लगातार प्रतिपक्ष दलका सांसदसहित सत्ता पक्षका सांसदसमेत उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले बैठकका सबै कार्यसूची हटाएर बैठक ३१ गते दिउँसो एकबजे बस्ने गरी स्थगित गरेका छन् । 

Logo