लकडाउनको उपयोग, हावाबाट बिजुली

लकडाउनको उपयोग, हावाबाट बिजुली


म्याग्दी ।
तीन दशकदेखि ऊर्जा क्षेत्रमा कार्यरत म्याग्दीको बेनीका युवा दुर्गाबहादुर श्रेष्ठले लकडाउनको समयलाई सदुपयोग गरी हावाबाट बिजुली निकालेका छन् ।

जिल्ला सदरमुकाम बेनीको बैंकरोडका उनले तीन दिनको अथक मिहेनतपछि १० वटा बल्ब बाल्न मिल्ने विद्युत् उत्पादन भएको हो । श्रेष्ठ म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालकसमेत हुन् । “सधैं हावा लागिरहने ठाउँ हो, परीक्षणको रुपमा प्रयास गरेको थिएँ, सफल भएँ”, श्रेष्ठले भने । उनले थप प्रविधिको प्रयोग गरी क्षमता बढाएर बेनीबजारको एउटा क्षेत्रलाई नै पुग्ने गरी विद्युत् निकाल्न सकिने बताए । पर्यटकीयस्थल लभ्लीहिलमा जडान गर्ने सोच भएको उनको भनाइ छ । हावा धेरै चल्ने स्थानमा उपयुक्त हुने भएकाले लभ्लीहिलमा लगेर जडान गर्ने उनको भनाइ छ ।

चार वर्ष अघि आफ्नै सीप र प्रविधिको उपयोग गरी कालीगण्डकी नदीबाट टर्वाइनमार्फत २०० किलोवाट विद्युत् उत्पादन गरी बेनी बजारमा प्रयोग गराएका श्रेष्ठले हावाबाट बिजुली निकाल्न आफू सफल भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्न प्रोत्साहन गर्दै आएका छन् ।

उनले बेनीमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन विभिन्न सङ्घसंस्थाले बनाउन लागेको स्यानिटाइजर टनेल निर्माणमा पनि सहयोग गरेका छन् ।

साँझको समयमा लभ्लीहिलमा हावाबाट निकालेको बिजुलीले झिलीमिली पार्ने उनको सोचाइ छ । यसका साथै लभ्लीहिलमा मोबाइल चार्ज स्टेशन बनाउने उनले बताए । तीन दिन लागेर उक्त प्रविधिको विकास गरेको उनको भनाइ छ । करिब तीन दशकदेखि ऊर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले म्याग्दीका विभिन्न लघुजलविद्युतसहित जिल्ला बाहिरका परियोजनामा समेत आफ्नो सीपको प्रयोग गरेका छन् ।रासस

Logo