रोबोर्टदेखि पीपीई र बुथको निर्माण गर्दै राष्ट्रिय आविष्कार केन्द्र

रोबोर्टदेखि पीपीई र बुथको निर्माण गर्दै राष्ट्रिय आविष्कार केन्द्र


काठमाडौं ।

कोरोनाको रोकथामको अभियानमा राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न कार्य गर्न थालेको छ। अविष्कार केन्द्रले अहिले आइसोलेसन सेन्टरमा रहेकालाई खाना पुर्याउने रोबोटको नमुनाको विकास गरिरहेको जनाएको छ ।

केन्द्रले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै नेपालको सातै प्रदेशका ४८ जिल्लाका १४५ वटा सरकारी र नीजी उपचार केन्द्रहरुमा २ हजार ,२ सय ५० वटा पीपीइ वितरण गरिएको जनाएको छ । ती मध्ये १ सय ८५ वटा एम्बुलेन्सका चालक र इमर्जेन्सी रेस्क्युमा काम गर्ने सुरक्षाकर्मीलाइ समेत पीपीइ वितरण गरिएको छ ।

उसले कोरोना लागेका बिरामी जाँच्ने बुथ निर्माण र वितरण गर्दै आएको पनि जनाएको छ । हाल १६ जिल्लाहरुका बिभिन्न टीमहरुले बुथ बनाउँदै छन् । नेपालमै बनेको बुथको प्रयोग शिक्षण अस्पताल, वीर अस्पताल, छाउनी सैनिक अस्पताल, भक्तपुर अस्पताल, बाग्लुंग अस्पताल, महेन्द्रनगर अस्पताल, इटहरी अस्पतालमा प्रयोगमा आएको पनि केन्द्रले जनाएको छ ।

केन्द्रले पुरानो भेन्टिलेटरहरुका मर्मत पनि गरिरहेको छ । साधारण किसिमको नयाँ भेन्टिलेटरमा पनि सिस्टमको विकास गरेर परीक्षण गर्ने काम भैरहेको जनाइएको छ । केन्द्रले कोरोनाले सिकिस्त भएकालाई जाँच्ने ईन्क्युबेसन बाकसको विकास गरिरहेको पनि जनाएको छ । त्यस्तै एकपटक प्रयोग भैसकेको मास्क र पीपीईलाई किटाणुरहित बनाएर फेरी प्रयोग गर्नको लागी युभी ट्रिटमेन्ट गर्ने सिस्टम बनाउन प्रयास गरि रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय आविष्कार केन्द्रलाई अमेरिकन नेपाल मेडिकल फाउन्डेसन, नेपाल बायोमेडिकल एसोसिएसन, नेपाली सेना, वीर अस्पताल, पन्चकन्या उद्योग, गोर्खा इको प्यानल, कवच गार्मेन्ट, रेमण्ड टेलरिंग, फिट वेल गार्मेन्ट, काल ए टेलर, इमाडोल गार्मेन्ट लगायतले उक्त कार्यमा सहयोग गरिरहेको केन्द्रले जनाएको छ । यसरी उत्पादन गरेको पीपीई निःशुल्क वितरण गर्ने पनि केन्द्रले जनाएको छ ।

Logo