टेलिकमको मोबाइलमा कल गर्दा कोरोनाबाट बच्ने सन्देश

टेलिकमको मोबाइलमा कल गर्दा कोरोनाबाट बच्ने सन्देश


काठमाडौं ।

नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले विहिबारबाट जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश दिन थालेको छ ।

कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सन्देश सामग्री प्रचारप्रसार गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

कम्पनीका अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जिएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने सङ्क्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् ।

यसैगरी कोरोना भाइरसको सम्भावित सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा सार्वजनिक सक्रियता तथा गतिविधि नियन्त्रित गर्नुपर्ने भएकाले नेपाल टेलिकमका सेवाहरुको महसुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न पनि कम्पनीले ग्राहकवर्गमा आह्वान गरेको छ ।

कम्पनीका सेवाहरुको महसुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहकसेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहजरूपमा महसुल भुक्तानी गर्न ग्राहकवर्गमा अनुरोध गरेको छ ।

Logo