यस पटक क्यान इन्फोटेक ‘२०२०’ फागुनमा हुने

यस पटक क्यान इन्फोटेक ‘२०२०’ फागुनमा हुने


काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधिको प्रयोग र पहुँचलाई विस्तार गर्ने उद्देश्यसहित यसपटक फागुनमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना गर्न लागिएको जानकारी दिएको हो।

प्रदर्शनीमा सूचना, प्रविधि र मनोरन्जन सम्बन्धी प्रदर्शनी हुनेछ। क्यान महासंघका महासचिव नारायण थापाले सूचना तथा सञ्चार प्रविधि बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० आयोजना गर्न लागिएको बताए।

थापाले भने, ‘सन् २०२०को आगनमा सूचना प्रविधिको माग र पहुँचलाई काठमाडौं उपत्यकासहित सबै प्रदेशमा क्यान इन्फोटेक प्रदर्शनी गर्दैछौ। यस पटकभने हामी फागुनमा गर्दैछौ।’

उनका अनुसार महासंघले प्रदेश १ को इटहरी, प्रदेश २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा प्रदेशस्तरीय र प्रदेश ५ को नेपालगञ्जमा जिल्लास्तरीय प्रदर्शनी आयोजना गर्ने भएको छ।

सूचना प्रविधि प्रदर्शनीमा महासंघका सदस्य संस्थाहरू, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहनेछ।

यस्तै क्यान महासंघका अध्यक्ष नवराज कुवँरले पर्यटन वर्ष २०२० लाई मध्यनजर गरी अन्तर्राष्ट्रिय स्तरको क्यान इन्फोटेक गर्ने योजना रहेको समेत जानकारी दिए।

Logo