काठमाडौं- सञ्चार तथा सूचना प्रविधिको प्रयोग र पहुँचलाई विस्तार गर्ने उद्देश्यसहित यसपटक फागुनमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएको छ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना गर्न लागिएको जानकारी दिएको हो।
प्रदर्शनीमा सूचना, प्रविधि र मनोरन्जन सम्बन्धी प्रदर्शनी हुनेछ। क्यान महासंघका महासचिव नारायण थापाले सूचना तथा सञ्चार प्रविधि बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० आयोजना गर्न लागिएको बताए।
थापाले भने, ‘सन् २०२०को आगनमा सूचना प्रविधिको माग र पहुँचलाई काठमाडौं उपत्यकासहित सबै प्रदेशमा क्यान इन्फोटेक प्रदर्शनी गर्दैछौ। यस पटकभने हामी फागुनमा गर्दैछौ।’
उनका अनुसार महासंघले प्रदेश १ को इटहरी, प्रदेश २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा प्रदेशस्तरीय र प्रदेश ५ को नेपालगञ्जमा जिल्लास्तरीय प्रदर्शनी आयोजना गर्ने भएको छ।
सूचना प्रविधि प्रदर्शनीमा महासंघका सदस्य संस्थाहरू, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहनेछ।
यस्तै क्यान महासंघका अध्यक्ष नवराज कुवँरले पर्यटन वर्ष २०२० लाई मध्यनजर गरी अन्तर्राष्ट्रिय स्तरको क्यान इन्फोटेक गर्ने योजना रहेको समेत जानकारी दिए।































