इन्टरनेट साक्षरता आवश्यक

इन्टरनेट साक्षरता आवश्यक


काठमाडौँ,

इन्टरनेटको सदुपयोग बढाउन र दुरुपयोग न्यूनीकरण गर्न नेपालमा इन्टरनेट साक्षरता जरुरी रहेको जानकारले औँल्याएका छन् । सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलनका वक्ताले नेपालमा इन्टरनेट साक्षरता कम भएकाले नागरिकदेखि नीति निर्मातासम्मलाई इन्टरनेटको सही जानकारीबारे चेतना बढाउन आवश्यक रहेको बताए ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनालले इन्टरनेटबाट धेरै फाइदा लिन सक्ने भए पनि इन्टरनेट अधिकारका बारेमा धेरैलाई जानकारी नभएको बताउनुभयो । सोही विभागका उपप्राध्यापक लेखनाथ पाण्डेले पछिल्लो समय पाठक तथा स्रोता शक्तिशाली बनेको बताउँदै सूचनालाई छनोट गरेर लिन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

प्रदेश नं ३ का सञ्चार रजिष्ट्रार रेवती सापकोटाले इन्टरनेट साक्षरता बढाउन सरकारले विशेष ध्यान दिने भन्दै आम्दानीको स्रोत बढाउन र चर्चित हुनका लागि इन्टरनेट दुरुपयोग बढाउन नहुने बताउनुभयो । सेन्टर फर मिडिया रिसर्च नेपालका संस्थापक अध्यक्ष उज्ज्वल आचार्यले नेपालमा इन्टरनेट दुरुपयोग गर्नेको सङ्ख्या बढेको बताउँदै इन्टरनेटको सही उपयोग सिकाउन आवश्यक रहेको बताउनुभयो ।

सूचनाप्रविधि विज्ञ एवम् काठमाडौँ विश्व विद्यालयका सहप्राध्यापक डा सुधांशु दाहालले सूचना प्रविधिको पर्याप्त जानकारी नुहँदा नागरिक फेक न्यूज र इन्टरनेटको सिकार हुनुपर्ने स्थिति रहेको बताउनुभयो । इन्टरनेट सोसाइटी नेपालका पूर्वअध्यक्ष सन्तोष सिग्देलले इन्टरनेटमा चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै अवसरलाई सदुपयोग गर्ने कुरालाई अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेष दाहालले अहिलेका बहस प्रायः इन्टरनेट स्वतन्त्रताको पक्षमा केन्द्रित रहेको उल्लेख गर्दै इन्टरनेटका बहुआयामिक पक्षमा छलफल गर्दै बुझ्नुपर्ने धारणा राख्नुभयो । इन्टरनेट सेक्युरिटी विज्ञ सचिन ठकुरीले इन्टरनेटमा चौतर्फी हमला भइरहेको भन्दै इन्टरनेटको सुरक्षाका लागि नीति ल्याउन र नागरिकमा जनचेतना बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पत्रकार उमेश श्रेष्ठले इन्टरनेटमा सही समाचारभन्दा सनसनीपूर्ण र फेक न्यूज भाइरल बन्ने प्रवृत्ति बढेको बताउँदै सोसल मिडियाको दुरुपयोगले गर्दा मूलधारको पत्रकारितामा थप चुनौती सिर्जना भएको बताउनुभयो । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले इन्टरनेट महिलामैत्री नभएको र महिलाको पहुँच पनि कम रहेको बताउनुभयो ।

शुक्रबार साप्ताहिकका सम्पादक केपी ढुङ्गानाले इन्टरनेटले गर्दा वैयक्तिक स्वतन्त्रा खुम्चिंदै गएको बताउनुभुयो । अधिवक्ता पवित्रा राउतले सबैमा इन्टरनेट साक्षरता नहुँदा दुरुपयोग बढेको बताउनुभयो । सम्मेलनमा सचिन ठकुरीले ‘इन्टरनेट सेक्युरिटी इन नेपाल’, सन्तोष सिग्देलले ‘इन्टरनेट गभर्नेन्स इन नेपाल’, नीतु पण्डितले ‘जेन्डर एन्ड फ्रिडम इन नेपाल’, केपी ढुङ्गानाले ‘प्राइभेसी एन्ड इन्टरनेट इन नेपाल’ र उमेश श्रेष्ठले ‘इन्टरनेट एन्ड जर्नालिजम इन नेपाल’सम्बन्धी अनुसन्धानमूलक कार्यपत्र पेश गर्नुभएको थियो ।

Logo