कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको १३औं महाधिवेशन मंसिर ७ गते हुने भएको छ । सुनैना पाण्डेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन् । क्यानको इतिहासमै पहिलो महिला अध्यक्ष बन्ने दौडमा रहेकी पाण्डे अहिले उपाध्यक्ष छिन् । उनको प्यानलले तयार गरेको एजेण्डा, क्यानको भावी कार्यदिशा र समग्र सूचना प्रविधिको विषयमा सुनैनासँग केन्द्रविन्दुले गरेको कुराकानी—
अध्यक्षको प्रत्यासी हुनुहुन्छ ? चुनाव कत्तिको लागेको छ ?
एकदमै नजिक आएको भएर अहिले त बेस्सरी चुनावमा खटिने अवस्था छ । बिहानदेखि बेलुकासम्म चुनावी अभियानमै छौँ । घरदैलो कार्यक्रममा लागिरहेका छौं ।
यस पटकदेखि क्यानमा पनि राजनीतिक छिर्यो भन्छन् ? त्यस्तो महसुस गर्नुभएको छ ?
वास्तवमा यो पालि पहिले पहिलेभन्दा अलि बढी त्यस्तो किसिमको प्रभाव परेको हो कि जस्तो लागिरहेको छ । पहिले व्यावसायिक हिसाबले एकअर्कामा प्रतिस्पर्धा हुन्थ्यो भने यसपालि फरक किसिमका दवाब आइरहेका छन् । केही व्यक्तिलाई भरसक नउठोस् भन्ने किसिमका दवाब आइरहेका छन् । यो हामीले महसुस गरेका छौं ।
तपाईमाथि कस्ता दवाब आइरहेका छन्, भन्न मिल्छ ?
सबै कुरा भन्न त नमिल्ला, तर अध्यक्षका लागि यसपालि नउठेर उपाध्यक्षमै बस्न तीव्र दवाब आएका छन् ।
उपाध्यक्ष त अहिले नै हुनुहुन्छ, यस कुरामा के भन्छन् नि दवाब दिनेहरू ?
वरिष्ठ उपाध्यक्ष भएर बसिदिनुहोस् भनेका छन् ।
क्यानमा अध्यक्ष प्रत्यासी महिला भएको यो पहिलो पटक हो कि ?
हो, पहिलो पटक नै हो । क्यानको २७ वर्षे इतिहासमा यसरी महिला प्रत्यासी भएर आएको पहिलो पटक हो ।
दावीविरोधको कुरामा पनि तपाईंमाथि धेरै कुरा उठे, महिला भएकै कारणले त्यस्तो भइरहेको हो वा अन्य कुनै कारण ?
खासमा महिला भएको कारणले मात्र विरोध भएको हो भन्ने लाग्दैन । यसमा कसैकसैका आकांक्षाहरू होलान् अथवा कसैले केही फाइदा उठाउन खोजिरहेका हुन सक्लान् ।
म त क्यानमा सेवा गर्न आएकी हुँ, यसमा जोडिएको १५ वर्षे अवधिमा मैले लामो समय त स्वयंसेवकको रूपमा सेवा गरेँ । फेरि यो कुनै पनि किसिमको व्यक्तिगत वा आर्थिक लाभ हुने खालको ठाउँ पनि होइन । यो त विशुद्ध सूचना प्रविधि सम्बन्धी एसोसिएसन हो र यसमा हामीले दिने मात्रै हो लिने कुरा केही पनि छैन । त्यसो हुँदा पनि मजस्तो खटेर काम गर्ने मान्छेको विरोध किन भयो भन्ने कुरा मैले बुझ्न सकेकी छैन ।
यो दावी विरोधमा तपाईंमाथि के कस्ता लाञ्छानाहरू लागे अथवा उहाँहरूले के भन्न खोज्नुभो ?
मलाई त त्यस्तो केही पनि आएको छैन अहिलेसम्म ।
तपाईमाथि दावीविरोध केही पनि भएन ?
केही पनि परेको छैन ।
तर तपाईंले चाहिँ लगाउनुभयो क्यारे ?
मैले लगाएको छैन । सायद जसलाई केही कुरामा शंका लागेको थियो वा केही कुराहरूमा उहाँहरूलाई यो किसिमको सही कुरा भएको छैन भन्ने लागेको छ ।
खासमा तपाईंले अध्यक्षमा उम्मेद्वारीचाहिँ किन दिनुभएको ?
सबैभन्दा पहिलो कुरा त यो क्यान महासंघमा हामीले जुन नीतिगत काम गर्नुपर्ने थियो त्यसमा लाग्छु । व्यवसायीको हकहित र व्यवसाय प्रवर्धनको लागि काम गर्छु ।
खासमा म ३ वटा महत्वपूर्ण मुद्दामा लाग्नेछु । पहिलो सूचना प्रविधिको क्षेत्रमा लाग्नुभएका व्यवसायीहरूलाई सहजीकरण गर्ने । अर्को क्यान संघबाट महासंघमा गइसकेपछि केन्द्र, प्रदेश र जिल्लामा भएका हाम्रा सम्पूर्ण सदस्यहरूलाई समान अधिकार दिने कार्य र अन्त्यमा व्यवसायीको हकहित प्रवर्धन गर्न एउटा आईटी बोर्ड र कोष स्थापना गर्ने । मसँग यस्ता थुप्रै योजना छन् । ती योजनाले अन्ततः यस क्षेत्रकै उन्नति हुने भएकाले मैले उम्मेद्वारी दिएकी हुँ ।
तपाईंका मूल एजेण्डा यही ३ वटा हुन् ?
हजुर, यिनै ३ एजेण्डा पूरा गर्न सकियो भने प्रायः सबै समस्या समाधान हुन्छन् ।
यो काम अरूले गर्न सक्दैनन् र ?
गर्न नसक्ने होइन तर मेरो आफ्नो एजेण्डा मैले प्रस्तुत गरेको छु । अरूका आफ्नै एजेण्डा होलान् ।
कतिपयले तपाईंलाई दुई वर्ष पर्खिनुभएको भए हुन्थ्यो पनि भन्छन् । उनीहरूलाई केही जवाफ छ ?
अहिले सही समय हो । म दुई वर्ष पर्खिदा पनि मैले यही किसिमको वातावरण, यही किसिमको अभ्यास फेरि पनि गर्नुपर्छ । दुई वर्ष पर्खिदा मलाई क्यानमा लामो समय बसिरहन खोजेको आरोप लाग्छ । हरेक हिसाबले अहिले नै मेरा लागि उपयुक्त समय छ ।
७ गते चुनाव छ ? त्योभन्दा अघि कसरी सक्रिय भइरहनु भएको छ, कसको पक्ष बलियो देखिरहनुभएको छ ?
अहिलेसम्म हेर्दा हाम्रो पक्ष सबल देखिएको छ । म देशभरिका सम्पूर्ण सदस्यहरूसँग सम्पर्कमा छु । जिल्लाका साथीहरूसँग, केन्द्रमा भएका सदस्यज्यूहरूसँग पनि कुरा भइराख्छ । म पनि काठमाडौंमै मात्र कहिल्यै पनि केन्द्रित भएकी छैन । काठमाडौं तथा बाहिरका सबैसँग मेरो समान भाइचारा छ, त्यस कारणले मेरो जीत सुनिश्चित छ ।
कतिपयले तपाईं काठमाडौंमा बलियो हुनुहुन्छ, बाहिरचाहिँ अवस्था फरक छ भनेका छन् । तपाईले त्यस्तो केही सुन्नुभएको छ ?
अवश्य पनि सुनेको छु । यसमा अलिकता भ्रम फैलाइएको हो कि जस्तो लाग्छ । किन भन्दाखेरि मेरो विपक्षमा जो प्रत्यासी हुनुहुन्छ उहाँचाहिँ जिल्लाको नेता मचाहिँ काठमाडौंको नेता भन्ने किसिमको भ्रम फैलाइएको मेरो अनुमान छ । यस विषयमा मेरो भनाइ के भने बाहिरको भन्ने कुरा गर्ने हो भने म पनि मोरङकी हुँ । अनि अर्को कुरा उहाँले पनि केन्द्रबाट नै सदस्यता लिएर यहाँबाट लड्दै हुनुहुन्छ, जिल्लाबाट प्रतिनिधिको रूपमा आउनुभएको छैन । म पनि केन्द्रबाट उहाँजसरी नै सदस्यता लिएर लड्दै छु । त, फरक के छ ।
तपाईले अघि भन्नुभयो, यो समाजसेवा गर्ने संस्था हो ? त्यसो गर्नका लागि त ठूलै खर्च लाग्ला । त्यो कसरी जुटाउनुहुन्छ ?
हाम्रो टिम छ । हाम्रो टिमले एकअर्कालाई साथ सहयोग गरेरै हामी यो बजेट जुटाउँछौँ ।
देशभरिका मतदाताहरूसँग कसरी भोट माग्नुहुन्छ ?
सर्वप्रथम त मैले विगतका दिनहरूमा क्यान महासंघमा गरेका योगदान हेरेर र आगामी दिनमा पनि यो नेतृत्वका लागि योग्य छ भन्ने सोचेर भोट दिनुहुन्छ । यसले गरेका अठोटहरू, व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्छे भनेर पनि मलाई मत दिनुहुन्छ । यसै विश्वासका साथ म धेरै बोल्दिन तर काम गरेर देखाउँछु भनेर मैले हाम्रा सदस्यहरूसँग मत माग्ने हो । महिला भएकैले भोट दिने होइन, मेरो सक्षमता हेरेर भोट दिनुहोस् भनेर अनुरोध गर्छु ।
चुनाव जित्ने वा हार्ने सम्भावना उत्तिकै हुन्छ । जित्दा वा हार्दा के गर्नुहुन्छ ?
जितेँ भने म आफ्ना एजेण्डा पूरा गर्न लाग्छु । आफ्नो सम्पूर्ण टिमसँग मिलेर क्यान महासंघको केन्द्र, जिल्ला र प्रदेश सबै सदस्यहरूसँग हातेमालो गर्दै उहाँहरूको समस्या के छन् त्यो सबै बुझेर अगाडि बढ्छु । हारेको अवस्थामा आफ्नो दिनचर्या छँदै छ, मेरो आफ्नो जागिर, काम छँदै छ त्यसैमा लाग्छु ।
हेर्नुहोस् भिडियो अन्तर्वार्ता





























प्रतिक्रिया