दशैंबाट नारायणीमा ‘मिनी पानीजहाज’ चल्ने, एक पटकमा २ सय यात्रु बोक्ने

दशैंबाट नारायणीमा ‘मिनी पानीजहाज’ चल्ने, एक पटकमा २ सय यात्रु बोक्ने

केन्द्रबिन्दु
0
Shares

चितवन । अबको दुई महिनाभित्र नारायणी नदीमा ‘मिनी पानीजहाज’ चल्ने भएको छ । चार महिनादेखि निर्माणाधीन अवस्थामा रहेको क्रुजसिप (मिनी पानीजहाज) लाई परीक्षणको लागि नारायणी नदीमा राखिएको छ ।

पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले काप्रेघाटमा निर्माण गरिरहेको मिनी पानीजहाजलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैँमा सञ्चालन गर्ने तयारी गरेको छ। एक पटकमा दुई सय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरी बनाइएको छ । भरतपुर महानगरपालिका–१६, काभ्रेघाटमा बनाइँदै गरेको जहाज १०० फिट लम्बाइ र २२ फिट चौडाइको रहेको निर्देशक कँडेलको भनाई छ ।

बुटवलबाट ल्याइएका विशेष प्रकारका दुईवटा क्रेनले शुक्रबार दिनभरि लगाएर जहाज पानीमा झारिएको थियो । भारतबाट आएका प्राविधिक र नेपाली गरी ५० जना निर्माणमा खटिएका छन्। जहाज पार्किङ गर्ने स्थान पोर्ट निर्माणका लागि पाँच करोड रुपैयाँ लगानी भइसकेको कँडेलको भनाई छ ।

मिनी पानीजहाजमा १५ जना क्यू मेम्बर हुनेछन् । दुई तला रहेको पानीजहाजको माथिल्ला तलाबाट दृश्यावलोकन पनि गर्न सकिने कँडेलको भनाई छ । ‘मिनी पानीजहाज’ लाई दिनमा तीन सिफ्ट चलाउने योजना छ ।

काप्रेघाटलाई मुख्य केन्द्र बनाएर देवघाटदेखि गोलाघाटसम्मको क्रुजिङ करिब तीन घण्टाको हुनेछ । उक्त मिनी पानीजहाज वर्षातको तीन महिना भने बन्द गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जब नारायणीसहित देशका ठुला नदीहरुमा पानीजहाज चलाउँने घोषणा गर्दा उनको मजाक गरिएको थियो । धेरैले उनको अभिव्यक्तिमाथि व्यंग गर्दै कागजको पानीजहाज बनाएर बाल्टीमा पानी राखेर प्रदर्शन समेत गरेका थिए ।

त्यसमाथि पनि नारायणी नदीमा पानीजहाज चलाउँनै नसक्ने पनि भन्दै त्यो सम्भवन नै नभएको भनी खिल्ली पनि उडाईएको थियो तर नारायणीमा मिनी पानीजहाजको सञ्चालनमो तयारीमा रहेको हो ।

Logo