नेपाली वैज्ञानिकसहितको टोलीले पत्ता लगायो नयाँ ग्रह

नेपाली वैज्ञानिकसहितको टोलीले पत्ता लगायो नयाँ ग्रह

केन्द्रबिन्दु
0
Shares

(बलराम प्यासी)

नेपाली वैज्ञानिकसहितको टोलीले नयाँ ग्रह पत्ता लगाएको छ।

३५ वर्षिय नेपाली खगोलशास्त्री प्रा.डा.सुमन सत्यालसहितको ६ सदस्यीय वैज्ञानिक टोलीले गत बुधबार (बैशाख ४ गते) ‘केप्लर- ४७ डी’ नामक नयाँग्रह पत्ता लगाएका हुन् ।

अमेरिकाको टेक्सास विश्वविद्यालय, आर्लिङ्गटनका प्राध्यापक सत्यालसहितको वैज्ञानिक टोलीमा सान डियागो विश्वविद्यालयका जेरोम ओरोसज र विलियम वेल्स, हवाई विश्वविद्यालयका नादेर हाघिघिपौर, ओक्लोहामा विश्वविद्यालयका बिल्ली क्वार्लस तथा नासाका वैज्ञानिक ज्याक लिस्साउएर छन् ।

वैज्ञानिक प्रा.सत्यालका अनुसार पत्ता लागेको नयाँग्र ह हाइड्रोजन र हिलियम रसायनले भरिएको पाइएकोले यसमा मानव या अन्य कुनै जीव बस्न सक्दैन । २ वटा सुर्यको वरिपरि घुम्ने ‘केप्लर—४७ डि’ मल्टीप्लानेट सिस्टम भएको पनि वैज्ञानिक सत्यालले बताएका छन् ।

नयाँग्रह ‘केप्लर ४७ डि’ वरुण अर्थात नेप्च्युनग्रह जत्रो करीव ५० हजार वर्गमिटर व्यासको रहेको बताइन्छ । यसअघि केप्लर-४७ बि र ४७ सी पत्ता लागिसकेको पनि वैज्ञानिक प्रा.सत्यालले बताए ।

सन् २०१० देखि टेक्सास विश्वविद्यालय, आर्लिङ्गटनमा खगोलशास्त्र विषयमा प्राध्यापन गर्दै आएका वैज्ञानिक सत्याल विगत ९ वर्षदेखि सौर्यमण्डलमा नयाँग्रहको खोजीमा सक्रिय छन् । उनी नेपाल खगोल शास्त्री समाज (नासो) का सल्लाहकार समेत हुन् । दुईवर्ष अघि वैज्ञानिक सत्याल सहितको अर्काे टोलीले सौर्यमण्डलमा नयाँग्रह ‘ग्लिजा ८३२ डि’ पत्ता लगाएको थियो ।

रामप्रसाद सत्याल र गोमादेवी सत्यालका जेठा छोरा सुमन काभ्रे जिल्ला बाँसडोल बासिन्दा हुन् । वैज्ञानिक सत्यालको सहयोगमा नेपालमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयमा खगोलशास्त्रमा स्नातकोत्तर सकेका ३ जना खगोलशास्त्री विद्यार्थीहरु सुष्मा खनाल, मेघनाथ चालिसे र जिपि अधिकारीले खगोल शास्त्र विषयमा पिएचडि शोधकार्य गरिराखेका छन् । सत्याल उक्त शोधकार्यको सल्लाहकार (थेसिस एड्भाइजर ) समेत हुन् ।

सत्याललाई विज्ञान क्षेत्रमा विशिष्ट योगदान गरेवापत सरकारले एकलाख रुपैयाँको राशीसहित उत्कृष्ट युवा पुरस्कारले सम्मान गरेको थियो ।

Logo