अमेरिकामा टिकटकलाई ५७ करोड जरिवाना

अमेरिकामा टिकटकलाई ५७ करोड जरिवाना


एजेन्सी । छोटो भिडियो शेयरिङ एप टिकटकमाथि ५७ लाख डलर जरिवाना लागेको छ । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा अमेरिकामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको हो ।

अमेरिकाको संघीय व्यापार आयोगले टिकटकलाई उक्त जरिवाना लगाईएको हो । कम उमेरका बालबालिकाका सामाग्रीहरु समेत विना रोकतोक संग्रहित तथा प्रशारण गर्ने गरेको भन्दै आयोगले कारवाही गरेको हो ।

साथै अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोगकर्ताको गोपनियता सम्बन्धमा नयाँ व्यवस्था लागू गर्न भनेको छ । सुरुमा म्युजिकली नामक एपको रुपमा रहेको यो एप पछि टिकटकमा परिणत भएको थियो । आयोगले बालबालिका सम्बद्ध सामाग्रीहरु हटाउन टिकटकलाई आदेश दिएको छ ।

अबदेखि अमेरिकामा टिकटक प्रयोगकर्ताले यस एपमा लगइन गर्नका लागि आफ्नो उमेर प्रमाणित गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको उमेरको प्रमाणिकरण तत्काल अमेरिकामा मात्र लागू हुनेछ । स्मरण रहोस् टिकटक सन् २०१८ मा सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको छ ।

अहिले विश्वमा टिकटकका प्रयोगकर्ताको संख्या १ अर्ब नाघिसकेको छ । टिकटक एपमा प्रयोगकर्ताले छोटो आकारको भिडियो रेकर्ड गर्न, त्यसमा संगीत भर्न र त्यसलाई शेयर गर्न सक्दछन् ।

Logo