काठमाडौं । त्यतिबेला नेपालमा डिपार्टमेन्ट स्टोरको संस्कृति भर्खर बामे सर्न थाल्दै थियो। काठमाडौँ, पोखरालगायत सीमित सहरमा भाटभटेनी, ब्लुबर्ड, सेलवेजजस्ता सुपरस्टोर खुलेका थिए। तर, ती स्टोरमा पनि कम्प्युटराइज्ड बिलिङ थिएनन्।
त्यही अभाव पूर्ति गर्ने सपना देखे राजेन्द्र शाक्य र सगुनबहादुर ताम्राकारले। र, २६ वर्षअघि दुई वटा साना कोठामा दुई वटा पुराना डेस्कटप कम्प्युटर राखेर सुरु गरे– आईएमएस सफ्टवेयर।
कसैले कम्प्युटराइज्ड बिलिङ नदेखेको त्यो समयमा सफ्टेवयर निर्माण गर्दा चल्ने हो कि होइन, कसरी अघि बढ्ने भन्ने संस्थापकहरूले समेत भेउ पाएका थिएनन्। कलिला युवाहरूले बनाएको सफ्टेवयर किनेर व्यवसायीले बिल काट्छन् भन्ने कल्पना सायदै कसैले गरेको थियो।
तर, एकातिर विदेशी पर्यटकहरू क्रमशः बढ्नु, अर्कोतिर प्रविधिको तीव्र विकाससँगै नेपालमा सुपरस्टोर संस्कृति मौलाउनु आईएमएस सफ्टवेयरका लागि वरदान साबित भयो। सबैभन्दा सुरुमा पोखराको सेलवेज आईएमएसको बिलिङ सोलुसन जोड्न सहमत भयो।
‘बार कोडले बिलिङ गर्ने भनेर मान्छेहरू हेर्नै आउँथे। गाउँबाटै मान्छेहरू कम्प्युटरले बिल काट्छ भनेर लाइन लागेरै हेर्न आउँथे। यस्तो अवस्थाबाट हामीले आईएमएस सफ्टवेयर सुरु गरेका थियौँ। एकदमै सानो सुरुआत थियो। हामीलाई थाहै थिएन, सफ्टवेयर चल्छ कि चल्दैन। कसरी अघि बढ्ने पनि थाहा थिएन,’ आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले भने।
तर, आज आईएमएस नेपालका नाम चलेकादेखि विदेशसम्मका दसौँ हजार स्टोरहरूमा प्रयोग हुन्छ। बिलिङ सफ्टवेयर बेच्ने भन्दै जोसिएको आईएमएसको टोली विद्युतीय हाजिरीतिर पनि मोडियो। यसले उनीहरूको व्यवसायलाई ह्वात्तै माथि ल्याइदियो। किनकि दुवैखाले सफ्टवेयर निर्माण गरिदिन चौतर्फी माग आयो।
त्यो बेला नेपालमा फिंगरप्रिन्ट डिभाइस पनि थिएन। आईएमएसका संस्थापकहरूले पनि यसबारे सुनेका मात्रै थिए। ‘म बेलायत पढेर नेपाल आएको हुँ। मलाई इलेक्ट्रोनिक अटेन्डेन्सबारे थाहा थियो। तर, डिभाइस कहाँबाट ल्याउनेदेखि अरु केही थाहा थिएन,’ सन्तोषले सम्झिए।
यो सफ्टवेयरले कम्पनीको आत्मविश्वासदेखि व्यापार समेत उकास्न निकै मद्दत गर्यो। हाजिरीबारे सोधीखोजी धेरै हुन थालेपछि आईएमएसले कोरियाबाट पहिलोपटक फिंगरप्रिन्ट डिभाइस नेपाल झिकाएको थियो। त्यसपछि डिभाइसलाई सफ्टवेयरमा इन्टिग्रेट गर्ने काम भयो। त्यो काम आईएमएस सफ्टवेयरका अर्का सहसंस्थापक अमितलाल जोशीले गरेका थिए।
आईएमएसले पहिलो क्लाइन्टको रूपमा सीता एयरलाई अटेन्डेन्स डिभाइससहित सफ्टवेयर इन्टिग्रेसन गरेर बेचेको थियो। त्यसपछि सीताराम डेरी, इसिता ट्रेडिङलगायतले चलाएका थिए। यो सँगै कम्पनी आफैँले र समयक्रमले प्रयोगकर्तालाई त्यसमा अभ्यस्त बनाउँदै लग्यो। त्यो समयमा अटेन्डेन्सको माग र आवश्यकता बढी भएकाले त्यो बढी बिक्थ्यो। डिपार्टमेन्ट स्टोर निकै कम भएकाले बिलिङ सोलुसनको बिक्री र माग न्यून थियो।
सन् २००६ तिरको कुरा हो। भेस्पर हाउस रेस्टुरेन्टका सञ्चालकहरूले सन्तोषलाई बारम्बार रेस्टुरेन्टको सफ्टवेयर चाहियो भनिरहन्थे। त्यसपछि आईएमएसले पहिलोपटक रेस्टुरेन्टसम्बन्धी सफ्टवेयर भेस्परको चाहनामा तयार गर्यो।
‘हामी एकदमै विस्तारै अघि बढ्यौँ। सिनेमामा जस्तो आज सफ्टवेयर बनायो, भोलि करोडपति हुने कुरा भएन। हामी एकपछि अर्को कदम चाल्दै अघि बढ्दै आयौँ। कछुवाको चालमा एउटा क्लाइन्टको आवश्यकता पूरा गर्यौँ। त्यतिबेला एउटा क्लाइन्टको आवश्यता पूरा गर्न ६–७ महिना कुरा गर्यो, फेरि कुरा फेर्ने हुन्थ्यो। अहिले महिनामा लगभग ५०–६० नयाँ क्लाइन्टसँग डिल गर्छौं,’ सन्तोषले भने।
सन् २००८ मा आएर आईएमएसले आफ्नो बिलिङ सफ्टवेयरको यात्रामा मुख्य माइलस्टोन हात पार्यो। यसपछि आईएमएसले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेको छैन। भाटभटेनीमा आईएमएसको बिलिङ सफ्टवेयर प्रयोग हुन थालेपछि यसले कम्पनीको यात्रामा नयाँ ढोका खोलिदिएको थियो।
हाल आईएमएसमा काम गर्नेमध्ये जेनजी धेरै छना् २५ देखि २८ वर्षका कर्मचारीको बाहुल्य छ। ४० जना डेभलपरसहित अरु सबै क्षेत्र गरेर आईएमएससँग १५० बढी कर्मचारी छन्।
मीनबहादुर गुरुङको भाटभटेनीमा आफ्नो प्ल्याटफर्म प्रयोग हुनुमा भाग्यसँगै नेटवर्किङले काम गरेको सन्तोषको भनाइ छ। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानुदत्त पौडेल कुनै समय सेलवेजमा थिए। सेलवेजले आईएमएसकै सफ्टवेयर प्रयोग गर्थ्यो। सेलवेज छाडेर पौडेल भाटभटेनी गए। त्यसपछि पौडेलले आईएमएसलाई बोलाएर बिलिङ सफ्टवेयर बारे चासो राखेका थिए।
डिपार्टमेन्ट स्टोरको बिलिङ सफ्टवेयरमा त्यो बेला अर्याल ब्रदर्सको सोलुसन पनि चलेको थियो। सबै स्टोरमा अर्याल ब्रदर्सकै सफ्टवेयर प्रयोग हुन्थ्यो। उसको वर्चस्वलाई तोड्दै सुपरस्टोर बिलिङ सोलुसनमा आईएमएस हाबी भयो।
भाटभटेनीले बिलिङ सफ्टवेयर चलाउन थालेपछि आईएमएस केके मार्टमा पनि प्रवेश गर्यो। केके मार्टको सहायतामा आईएमएस सफ्टवेयर मलेसियासम्म पुगेको हो।
साना स्टोरहरू छन्, मलेसिया आउनुपर्यो भनेपछि आईएमएसको टिम त्यहाँ पुगेको थियो। मलेसियामा भ्याट लगाउने विषय भर्खरै कार्यान्वयनमा आएको थियो। नेपालमा भ्याटसहितको बिलिङ सिस्टममा काम गरिसकेकाले आईएमएसलाई गाह्रो परेन।
‘नेपालबाट म र राजेन्द्र दाइ मलेसिया जाँदा ३–४ वटा स्टोर होला भन्ने लागेको थियो। तर, त्यहाँ पुगेर सोध्दा त १८० वटा भन्ने थाहा भयो। त्यो सुन्नेबित्तिकै म त हिसाबकिताब गर्न थालिहालेँ, त्यत्रो १८० स्टोरमा सफ्टवेयर राख्नुपर्छ भनेर। म राजेन्द्र दाइको मुख हेर्ने, वहाँ मेरो मुख हेर्ने। त्यहाँ जानेबेलासम्म पनि सफ्टवेयर तयार नै भएको थिएन। अन्तर्राष्ट्रिय बजारमा जान हाम्रो सफ्टवेयर तयार नै थिएन,’ सन्तोषले भने।
हाल आईएमएसका डेभलपमेन्ट र सपोर्टतर्फका निर्देशक एवम् सहसंस्थापक राजेन्द्र शाक्य एक महिना मलेसिया बसेर सफ्टवेयर निर्माण गरेका थिए। सन् २०१५ मा आईएमएसले मलेसियाको लागि बिलिङ सोलुसन रोलआउट गरेको थियो। सबै १८० हाराहारी स्टोरमा बिलिङ सफ्टवेयर सञ्चालनमा ल्याउन झण्डै एक वर्ष लागेको थियो।





























प्रतिक्रिया