‘स्टार्टअप वर्ल्ड कप २०२६’ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच साझेदारी

‘स्टार्टअप वर्ल्ड कप २०२६’ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच साझेदारी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तनको लहर तीव्र गतिमा अघि बढिरहेको छ। नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको छ।

यसैबी, द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वर्ल्डकप नेपाल च्याप्टर २०२६’ का लागि एक रणनीतिक सम्झौता भएको छ । यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी सम्झौता अनुसार क्यान महासंघ यस प्रतिष्ठित ग्लोबल प्रतिस्पर्धाको ’स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’को रूपमा रहनेछ । उक्त सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् ।

सहकार्य केवल एउटा प्रतिस्पर्धा मात्र नभएर नेपालभर छरिएर रहेका नवप्रवर्तनकारी सोचहरूलाई एकीकृत गर्ने र उनीहरूलाई व्यावसायिक रूपमा स्थापित गर्ने महाअभियान हो ।

देशव्यापी नवप्रवर्तन र प्रादेशिक पहुँच नेपालको उद्यमशीलता केवल काठमाडौँ उपत्यकामा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यताका साथ यो साझेदारीले देशव्यापी रणनीति तय गरेको छ । नेपालका विभिन्न प्रदेशहरूमा स्थानीय स्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू संचालन गरिनेछ। नेपाली उद्यमीहरूलाई उद्योगका अनुभवी नेतृत्वकर्ताहरू, सफल व्यवसायी र प्राविधिक विज्ञहरूसँग जोडिनेछ नवप्रवर्तनकारी आइडियाहरूलाई पूँजीसँग जोड्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग सहजीकरण गरिनेछ।

साझेदारीका क्रममा दुवै संस्थाका नेतृत्वकर्ताहरूले नेपालको आर्थिक समृद्धिका लागि स्टार्टअप कल्चर र डिजिटल फाउन्डेसनको महत्त्वमाथि जोड दिएका छन् । ‘नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य संवाहक हुन्। क्यान महासंघसँगको यो साझेदारीले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसरहरू प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म प्रदान गर्नेछ,’ द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ कँडेलले भने ।

‘क्यान महासंघ स्थापनाकाल देखि नै नेपालको सूचना प्रविधि र नवप्रवर्तनको विकासमा समर्पित छ । द ब्रिटिश कलेजसँगको सहकार्यले देशव्यापी रूपमा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै हाम्रा प्रविधी उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्नेछ,’ क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले भने ।

पेगासस टेक भेन्चर्सद्वारा विश्वव्यापी रूपमा आयोजना हुने ‘स्टार्टअप वल्र्ड कप’ विश्वकै सबैभन्दा ठूला र प्रतिष्ठित स्टार्टअप प्रतिष्पर्धाहरू मध्ये एक हो। यो विश्वका ६० भन्दा बढी देशहरूमा आयोजना हुने गर्दछ ।

विजेताले के पाउँछन् ?

नेपाल च्याप्टरको विजेताले अमेरिकाको प्रख्यात प्रविधि केन्द्र सिलिकन भ्यालीमा हुने ग्लोबल ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । जसले ग्लोबल एक्सपोजर पाउने संभावना हुने कम्पनीको दाबी छ ।

विश्व मञ्चका दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै विजेताले १ मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ भन्दा बढी)को लगानी पुरस्कार जित्ने अवसर पाउनेछन्।

विश्वकपले नेपालमा उद्यमशीलताको बलियो जग बसाल्न मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, नेपाली युवाहरूमा आइडियाको कमी छैन, तर त्यसलाई बजार अनुकूल ९ बनाउन आवश्यक पर्ने ’इकोसिस्टम’ को अभाव भइरहेको अवस्थामा मञ्चले ती आइडियालाई बिजनेस मोडलमा बदल्न सघाउनेछ ।

साथै, प्रविधिमा आधारित स्टार्टअपहरूले नेपालमै रोजगारी सिर्जना गर्ने र डिजिटल अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, विश्व बजारमा नेपाली प्रविधि, इन्डिजिनियस सफ्टवेयर र युवाहरूको प्राविधिक क्षमता प्रदर्शन गरेर नेपाललाई प्रविधिको सम्भावना बोकेको देशको रूपमा स्थापित गर्न यसले मद्दत गर्ने र ’ब्रान्ड नेपाल’ को प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नेछ । स्टार्टअप वर्ल्डकप नेपाल च्याप्टर २०२६ नेपाली उद्यमशीलताको इतिहासमा एउटा कोशेढुङ्गा साबित हुन सक्ने कम्पनीको दाबी छ ।

Logo