अप्टिकल फाइबर बिछ्याउने काममा तिब्रता

अप्टिकल फाइबर बिछ्याउने काममा तिब्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बन्दाबन्दी र निषेधाज्ञा कारण करिब छ महिना ठप्प भएको अप्टिकल फाइबर बिछ्याउने कामले पुनः गति लिन थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै मध्य पहाडी लोकमार्गमा फाइबर बिछ्याउने परियोजना अन्तर्गतका विभिन्न काम फेरि सुरु हुन थालेको हो ।

तीन वटा प्याकेजमा विभाजन गरिएको उक्त परियोजना मध्ये प्रदेश एक, दुई र बागमती प्रदेश अन्तर्गत अहिले अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । उनका अनुसार असोजको सुरुदेखि नै परियोजनाले गति लिन थालेको हो ।

‘डीब्लूडीएम र राउटर जडानको काम लगभग सकियो,’ उनले भने, ‘अप्टिकल बिछ्याउने काम पनि अब सुरु गरेर यस आर्थिक वर्षभित्र त्यो प्याकेजको काम सक्छौँ ।’ यसबाहेक विद्युतका पोलमार्फत अप्टिकल फाइबर जोड्ने काम पनि छिटै सुरु हुने उनले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणसँग पोल प्रयोगबापतको भाडाको विषय करिब टुङ्गो लागिसकेकाले छिटै नै करिब चार सय किलोमिटर फाइबर एडीएसएसमार्फत जोड्ने टेलिकमको तयारी छ ।

स्मार्ट टेलिकमबाट नेपाल टेलिकमले नै प्राप्त गरेको सुदूरपश्चिम र कर्णाली प्रदेशको प्याकेज तीनको परियोजनाका लागि टेन्डरको काम पनि अगाडि बढाइएको टेलिकमले जनाएको छ । प्रबन्ध निर्देशक अधिकारीका अनुसार उक्त प्याकेजका लागि एडीएसएसको बोलपत्र आह्वान भइसकेको छ । त्यस्तै माइक्रोवेभ र अन्डरग्राउन्ड नेटवर्कको पनि दुई हप्ताभित्रै बोलपत्र आह्वान गर्ने तयारीमा टेलिकम छ ।

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउन पूर्वाधार तयार गर्ने उद्देश्य अनुसार मध्य पहाडी लोकमार्गलाई आधार मानेर अप्टिकल फाइबर बिछ्याउने परियोजना अघि सारिएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको करिब १० अर्ब रुपियाँ लगानी गरेर अप्टिकल फाइबर बिछ्याउने गरी सेवा प्रदायकसँग सम्झौता गरेको थियो ।

टेलिकमसँग २०७३ असोज १२ गते पहिलो प्याकेजका लागि तीनवटा प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने समझदारी भएको थियो । यद्यपि २०७६ जेठ पहिलो हप्तादेखि टेलिकमले उक्त परियोजनाको काम सुरु गरेको थियो । काम सुरु गरेको दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार आगामी वैशाखमा टेलिकमले यो काम पूरा गर्नु पर्नेछ । बन्दाबन्दी र निषेधाज्ञाका कारण काम ठप्प भएपछि असारसम्म पुनर्तालिकीकरण गरेर काम सम्पन्न गर्ने टेलिकमको योजना छ ।गोरखापत्रबाट

Logo