२०१९ मा १२ लाख पर्यटक नेपालमा

२०१९ मा १२ लाख पर्यटक नेपालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अध्यागमन विभागले सन् २०१९ मा झन्डै १२ लाख पर्यटक नेपाल आएको बताएको छ । विभागका अनुसार यस वर्ष ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल घुम्न आए ।

विभागद्वारा जारी तथ्यांक अनुसार, यी मध्ये ९ लाख ९५ हजार हवाईमार्गबाट र २ लाख १३ हजार सडकबाट नेपाल आएका हुन् ।

सन् २०१८ मा भन्दा २०१९ मा पर्यटक आगमन २ प्रतिशतले बढेको छ । गत वर्ष ११ लाख ७३ हजार पर्यटक आएका थिए । यस वर्ष नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भम्रण वर्ष अभियान थालिसकेको छ ।

सन् २०१९ मा सर्वाधिक पर्यटक आउने मुलुकहरुमा भारत २ लाख ५४ हजार, चीन १ लाख ६९ हजार, संयुक्त राज्य अमेरिका ९३ हजार, बेलायत ६१ हजार, श्रीलंका ५५ हजार, थाइल्याण्ड ४१ हजार, अष्ट्रेलिया ३८ हजार, जर्मनी ३६ हजार, म्यानमार ३६ हजार र फ्रान्स ३० हजार रहेका छन् । गत वर्ष कम्तीमा १ सय ७० देशबाट पर्यटक नेपाल आएका छन् ।

सडकमार्गबाट आउने पर्यटकका लागि ७ वटा नाका छन् । जसमा सबैभन्दा धेरै रसुवागढीबाट २६ हजार, भैरहवाबाट १६ हजार, काँकडभित्ताबाट ८ हजार, गड्डाचौकीबाट ३ हजार, वीरञ्जबाट ११ सय, नेपालगञ्जबाट ४ सय र धनगढीबाट १ सय ८ जना पर्यटक सडकमार्ग हुँदै नेपाल आएका थिए ।
कान्तिपुरबाट

Logo