पर्यटन मन्त्री र नगरपालिका प्रमुखहरुबीच छलफल

पर्यटन मन्त्री र नगरपालिका प्रमुखहरुबीच छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले ‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन काठमाडौं उपत्यकाका स्थानीय निकायलाई आग्रह गरेको छ ।

दैनिक जस्तो विभिन्न निकायहरुसँग छलफलमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले बुधबार काठमाडौं उपत्यकाका सबै पालिकाहरुसँग छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले हवाई मार्गबाट आउने पर्यटकहरुलाई आकर्षित गर्ने पहिलो गन्तव्य काठमाडौं उपत्यकाका भएकाले पनि नगरपालिकाहरुको ध्यान जानुपर्ने बताए । त्यसका लागि नगरपालिकाहरुले ७ वटा विश्व सम्पदा सूचिमा परेका क्षेत्रलाई जोडने गरी साइकल लेन निर्माण गर्ने, सहरी सुन्दरता कायम गर्ने तथा राजधानीमा ‘भ्याली बाई नाइट’को अवधारणालाई विकास गर्नुपर्ने बताए ।

मन्त्री भट्टराईले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गर्दा २० लाख पर्यटक भित्र्याउने मात्र नभई पर्यटन क्षेत्रको विकास र नर्या पर्यटकीय गन्तव्यको पहिचान गर्नुपनि रहेको बताए । छलफलमा नगरपालिकाका प्रमुखहरुले आफ्नो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्नका लागि गरेका विकासहरुको विषयमा जानकारी गराएका थिए । काठामाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा कार्यक्रमहरु गर्ने भन्दा पनि विदेशमा रहेका मुख्य मुख्य पर्यटकीय शहरहरुमा गई प्रचार प्रसार गर्नुपर्ने बताए । उनले २०२० मा नेपाल भ्रमण गर्न आउँदा २०१९ मा भन्दा पर्यटकले के फरक पाउँछन त्यसको विषयमा पनि स्पस्ट हुनुपर्ने बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरको पर्यटकीय सहरमा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले ध्यान दिएको बताए । त्यसका लागि सहरको सुन्दरता निर्माण तथा ऐतिहासिक सम्पदाहरुको तस्बिर विभिन्न ठाउँमा राख्न लागेको जानकारी दिए । सरकारले भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १ का दिन भव्य समारोहबीच दशरथ रंगशालामा दिउसो ३ बजेदेखि गर्दैछ । त्यस्तै सबै प्रदेशका राजधानीमा समेत कार्यक्रम गरी भ्रमण वर्षको सुरुवात गर्न लागिएको छ ।

Logo