बागलुङको चैतेदसैँ मेला आजदेखि सुरु

बागलुङको चैतेदसैँ मेला आजदेखि सुरु

केन्द्रबिन्दु
27
Shares

बागलुङ । तीन सय वर्षभन्दा पुरानो बागलुङको चैतेदसैँ मेला आजदेखि सुरु भएको छ। बागलुङ कालिका भगवती गुठीको आयोजनामा सुरु भएको मेला नेपालकै ऐतिहासिक मेलामध्येको एकअन्तर्गत पर्दछ।

मेला सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्नुका साथै स्थानीय उत्पादनको खरिदबिक्री हुन थालेको छ। मन्दिर परिसरमा स्थानीय तथा आयातित वस्तुको खरिदबिक्रीका लागि स्टलहरु राखिएको व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। उनले तीन सय वर्षभन्दा पुरानो मेलालाई निरन्तरता दिँदै आइएको बताए।

“विसं १५९१ मा पर्वते राजा प्रतापी नारायणसिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफुसँगै दाईजोका रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा बिसाइएको थियो”, अध्यक्ष खड्काले भने, “भोलिपल्ट मूर्तिसहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापना भयो। पछि चैतेदसैँमा आउने भक्तजनले स्थानीय उत्पादनको खरिदबिक्री गर्ने चलन बढेसँगै चैतेदसैँको मेलाका रुपमा अहिलेसम्म निरन्तरता पाएको छ।

बागलुङ कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। त्यही विश्वासका आधारमा यहाँ हजारौँ खसी बोका, राँगा तथा हाँस, कुखुराको बली दिने गरिन्छ।

आगामी वैशाख ६ गतेसम्म सञ्चालन मेलामा रु एक करोड बढीको कारोबार हुने अपेक्षा लिइएको छ। पहिलापहिला चैतेदसैँका लागि भनेर वर्षभरि रकम जम्मा गरेर घरायसी सामग्री खरिद गर्ने गरिएको रामरेखाका ८५ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गरे। ‘एउटा पैसा कहिलेलाई चैतेदसैँलाई’ भन्ने गीत समेत गाइने उनको भनाइ छ।

आचार्यले पहिला पैसा खर्च गर्ने स्थान नै चैतेदसैँ भएको भन्दै पहिला जस्तो चैतेदसैँको रौनकता घटेको बताए। “पहिला डाली, नाङ्ला, ठेकाठेकी, आसी र बाउसा खरिद गर्ने काम चैतदसैँमा हुन्थ्यो। अहिले त आधुनिक रमाइलो मात्रै छ”, उनले भने, “मेलाले निरन्तरता पाउनु नै ठूलो कुरा हो।”

उक्त मेलामा पुरुष भलिबल, दोहोरी छेलो, विद्यालयस्तरीय नृत्य, कालिका मन्दिर परिसरदेखि शालग्राम सङ्ग्रहालयसम्म दाँडलगायत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिए। उनका अनुसार भलिबलमा हालसम्म विभागीय टोलीसहित १२ टिमले र दोहोरी प्रतियोगितामा ३४ समूह दर्ता भएका छन्।

Logo