काभ्रेमा प्याराग्लाइडिङ उडानको सफल परीक्षण

काभ्रेमा प्याराग्लाइडिङ उडानको सफल परीक्षण

केन्द्रबिन्दु
0
Shares

बनेपा

काभ्रेको बेथानचोक गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले अग्ला डाँडाहरुबाट प्याराग्लाइडिङ उडानको लागि परीक्षण गरिरहेको छ ।

गाउँपालिकाको वडा नं ४ र २ को सिमानामा पर्ने मुलखोलाचौर र वडा नं ६ को म्हेदाम्सुबाट परीक्षण गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनुभयो । सो गाउँपालिकाको मुलखोलाचौरबाट वडा नं ३ को नारायणटारस्थित खेतको फाँटमा अवतरण गरिएकामा सफल भएको अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

“हामीले अहिलेको लागि गाउँपालिकाको कुन÷कुन ठाउँबाट प्याराग्लाइडिङ उडान गर्न सकिने रहेछ भनेर पोखराका प्याराग्लाइडिङ व्यवसायी बोलाएर परीक्षण गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म गरेको परीक्षणमा मुलडाँडा र वडा नं ६ म्हेदाम्सुबाट रोसीखोलामा अवतरण गरी सफल परीक्षण सम्पन्न गरेका छौँ ।”

वडा नं ४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठले मुलडाँडाबाट आधा घण्टासम्म आकाशमा उडाएर नारायणटार खेतमा अवतरण गरिएको बताउनुभयो । चार पाइलटले बेथानचोकको विभिन्न ठाउँमा परीक्षण उडानको लागि सम्भावित ठाउँको खोजी गर्दा दुई ठाउँ उपयुक्त भएको जनाएको गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताउनुभयो । परीक्षण सफल भएकाले अब त्यसलाई सम्बन्धित निकायमा व्यवसायिक रुपमा उडान अनुमति लिने प्रक्रियामा लाग्ने उहाँले बताउनुभयो ।

सोही टोलीले यसअघि काभ्रेको धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धबाट शंखुको दाहालटारमा पनि परीक्षण उडान गरेको थियो । एक वर्ष अगाडि पनौति नगरपालिकाको गुर्दुमडाँडाबाट अनुमति लिएर उडान परीक्षण गरेको भएपनि त्यसलाई सम्बन्धित निकायबाट अुनमति लिएर व्यवसायिकता दिने काम भएको छैन ।
रासस

Logo