ललितपुरको इमाडोल–२ मा रहेको ऐतिहासिक बोझेपोखरी अहिले ओझेलमा रहेको छ । प्रचारप्रसार र संरक्षणको अभावले यो पोखरी यतिबेला ओझेलमा परेको हो । "/>

नागराजा फर्किने आशमा सदियौंदेखि पूजाआजा

नागराजा फर्किने आशमा सदियौंदेखि पूजाआजा

केन्द्रबिन्दु
0
Shares

ललितपुरको इमाडोल–२ मा रहेको ऐतिहासिक बोझेपोखरी अहिले ओझेलमा रहेको छ । प्रचारप्रसार र संरक्षणको अभावले यो पोखरी यतिबेला ओझेलमा परेको हो । ओझेल परेसँगै यससँग जोडिएका धेरै महत्वपूर्ण वस्तुहरुको सदुपयोग गर्न नसक्दा स्थानीयहरु चिन्तित् छन् ।

ललितपुरको बालकुमारीबाट मात्र एक किमि टाढा रहेको भएपनि यस पोखरीको बारेमा धेरैजसो व्यक्तिहरु अनभिज्ञ नै छन् । राजधानीभित्र रहेका चारदह (नागदह, टौदह, इन्द्रदह र इभिदह) मध्येको एक यस बोझेपोखरीको ऐतिहासिकता बारे पनि अहिलेसम्म कसैले चासो राखेको पाईंदैन । पहिले यसलाई ‘इभिदह’ भनिने गरेको भए पनि पोखरीमा बहुउपयोगी जडिवुटी बोझो अधिक मात्रामा रहेकाले पोखरीको नाम नै ‘बोझेपोखरी’ नामाकरण गरिएको हो । बोझेपोखरी भनेर नामाकरण गरेपनि अहिले भने पोखरीमा बोझो छैन । ८ वर्ष अघिसम्म रहेको बोझो पोखरीमा पानी कम हुदै गएपछि अहिले हराएको स्थानीय बताउँछन् । पोखरीमा अहिले कमल, जलकुम्भी लगायतका विरुवाहरु रहेका छन् ।

करिव २५ रोपनी क्षेत्रफल ओगटेको यस पोखरीको पनि अन्य ऐतिहासिक स्थलहरुको जस्तै किंवदन्ति रहेको छ । स्थानीय ८६ वर्षिय अष्टमान महर्जनका अनुसार परापूर्वकालमा यहाँ नागराज रहेको र पूजाको लागि एकजना ब्राम्हण सधैं खटिने गदर्थे । उनको पूजाबाट खुशी भएर नागराजले प्रत्येक दिन ब्राम्हणका लागि एक मासा सुन छोड्ने गर्दथे । एकदिन पूजारीको रुपमा रहेका ती ब्राम्हणलाई एकैपटक धेरै सुन पाउने इच्छा जागेछ र नागलाई आक्रमण गरेर सुन लुट्ने योजना बनाएछन् । योजना अनुसारै एकदिन नागलाई आक्रमण पनि गरेछन् । नाग रिसाएर ब्राम्हणलाई आफूले पहिलेदेखि नै दिएको सुन फिर्ता लिदैं कहिल्यै नर्फकने गरि अलप भएछन् । यो कुरा स्थानीयहरुले थाहा पाएपछि नागलाई पुनः दहमा फर्काउन सकिन्छ कि भनेर अहिलेसम्मै पनि पूजाआजा गर्ने गरिएको छ । तर फर्काउन नसकिएको अष्टमानको भनाई छ ।

राजधानीको कोलाहलयुक्त वातावरणबाट मुक्त पाउन शान्त वातावरण रहेकोले अहिले यहाँ आन्तरिक पर्यटकहरुको चहल–पहल वढ्ने गरेको पाईएको छ । तर विदेशि पर्यटकहरुको भने खासै उपस्थिती छैन । यहाँको पानीमा रमाउन टाढा–टाढाबाट पानीहाँस, चखेवा र बकुल्लाहरु आउने गर्छन् । दह नजिकै अहिले स्थानीयको जनश्रमदान र चन्दा संकलनबाट सत्यश्वर महादेव र सतिदेवीको मन्दिर निर्माण गरिंदै छ । यसका लागि स्थानियस्तरबाट मात्र संकलित रकम अपूग भएको बताईएको छ । जिल्ला स्तरबाट सहयोग पाउन सके अवको केहि महिना भित्रैमा मन्दिरलाई पूर्णता दिइने त्यहाँ गठित बोझेपोखरी संरक्षण तथा सुधार समितीका उपाध्यक्ष सानुकाजी महर्जनले बताए ।

यस पोखरीमा बाह्रै महिना पानी सुक्दैन भन्ने जनविश्वास रहेको भएपनि केहि वर्ष यता धेरै मात्रामा खडेरी पर्ने क्रम सुरु भएकाले पानीको सतह केहि कम हुने गरेको छ । वर्षायाममा भने पोखरीमा पानी प्रशस्तै हुन्छ । यहाँको पानी सदुपयोग गरेर स्थानीयले तरकारी तथा अन्य बालीहरुमा सिचाईं गर्ने गरेका छन् । केहि वर्ष पहिले पोखरीमा माछापालन गर्ने गरिएको भएपनि माछा चोरी भएकाले अहिले पाल्न छोडिएको छ । पहिले खुल्ला रहेको यस पोखरीमा ०६२ साल देखि वरिपरि पर्खाल बनाएर संरक्षण गर्न थालिएको छ । तर आर्थिक अभावले पर्खाललाई पनि पूर्णता दिन नसकिएको सानुकाजीले बताए । पहिले–पहिले यहाँ मेला पनि लाग्ने गरेको भएपनि अहिले यसलाई निरन्तरता दिइर्एको पाईंदैन ।

पोखरीको गहिराईको बारेमा स्थानीयहरु बेखबर छन् । वुढापाकाहरुका अनुसार पहिले ५० फिट सम्म गहिरो भएको अनुमान गरिएको भएपनि अहिले पोखरी त्यति नै गहिरो छैन । त्यहाँ रहेका झारपातहरु कुहिएर तथा अन्य कारणले पोखरीको सतह पुरिंदै गएपछि पहिले जति नै गहिरो नरहेको अष्टमान बताउँछन् । पोखरीलाई व्यवस्थित रुप दिएर त्यहाँ डुङ्गा व्यवसाय संचालन गर्ने सोच रहेको भएपनि पानी कम हुदैं गएपछि यो काम संभव नभएको उनले बताए । पोखरी नजिकै मन्दिर र स्थानिय स्तरमा सजिलोका लागि काजकिरिया गर्न किरियाघरको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । यी सबै कामका लागि पर्याप्त मात्रामा रकम नभएकाले पोखरीलाई चाहेर पनि व्यवस्थित बनाउन सकिएको छैन । अवको केहि महिना भित्रै पोखरीलाई अझ आर्कषण बनाउन यहाँका स्थानीय र सुधार समिती सक्रिय रहेको छ ।

‘बोझेपोखरीलाई बचाउन र चर्चामा ल्याउन सके यसका ऐतिहासिक विषयहरु ओझेलमा नपर्ने तर्फ सम्बन्धित निकायलाई आग्रह गर्दर्छौ ।’– समितीका उपाध्यक्ष सानुकाजीले भने । यहाँको मात्र नभएर अन्य ठाउँका पनि यस्ता ऐतिहासिक धरोहरहरुलाई जोगाउन अहिलेको युवापुस्ता सक्रिय हुनुपर्ने उनको भनाई छ ।

Logo