इटहरी। पूर्वी नेपालको पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटलका रूपमा सञ्चालनमा आउन लागेको रमाडा बाइ विन्डहम इटहरी र धरान गल्फ कोर्स संघबीच रणनीतिक आतिथ्य साझेदारीको औपचारिक घोषणा गरिएको छ । होटलको औपचारिक उद्घाटनअघि नै सम्पन्न भएको यस सहकार्यले प्रिमियम मनोरञ्जन, खेल पर्यटन र उच्चस्तरीय आतिथ्य सेवाको विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
साझेदारी अन्तर्गत धरान गल्फ कोर्स संघका देशभरका विशिष्ट सदस्य तथा गल्फ खेलाडीहरूले रमाडा बाइ विन्डहम इटहरीका अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सेवा–सुविधा होटल सञ्चालनपूर्व नै अनुभव गर्न पाउनेछन् । यस पहलले नेपालमा विस्तार हुँदै गएको गल्फ पर्यटनलाई स्तरीय आतिथ्य सेवासँग जोड्दै पूर्वी नेपाललाई उच्च मूल्यका आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा रमाडा बाइ विन्डहम इटहरीका महाप्रबन्धक अभिमन्यु कायस्थले धरान गल्फ कोर्स संघसँगको सहकार्य होटलको दीर्घकालीन रणनीतिक दृष्टिकोणको महत्वपूर्ण अंश भएको बताए । उनले गन्तव्यको समग्र आकर्षण वृद्धि गर्दै विश्वस्तरीय सेवा र स्थानीय पहिचानलाई एकीकृत गर्ने प्रयासमा होटल प्रतिबद्ध रहेको उल्लेख गरे ।
महेंद्र राजमार्ग र कोशी राजमार्गको संगमस्थलमा अवस्थित रमाडा बाइ विन्डहम इटहरी विराटनगर विमानस्थलबाट करिब २१ किलोमिटर दूरीमा रहेको छ । होटलमा ८१ आधुनिक कोठा तथा सुइट, स्वीमिङ पुल, वेलनेस सुविधा तथा ‘ग्लोबल अल–डे डाइनिङ’, ‘सत्रा लाउन्ज’, ‘पूलसाइड डाइनिङ’ र छतमा अवस्थित ‘शुक्रा बार’ जस्ता विशेष भोजन तथा मनोरञ्जन केन्द्र रहनेछन् ।
विश्वकै ठूला होटल समूहहरूमध्ये एक विन्डहम होटल्स एन्ड रिसोट्र्स अन्तर्गत सञ्चालनमा आउन लागेको रमाडा बाइ विन्डहम इटहरीले रणनीतिक साझेदारी, सेवा उत्कृष्टता र अन्तर्राष्ट्रिय मापदण्डमार्फत पूर्वी नेपालमा लक्जरी आतिथ्य र गन्तव्य–आधारित पर्यटनको भविष्य निर्धारण गर्ने विश्वास लिइएको छ ।































प्रतिक्रिया