काठमाडौं। ‘दि वल्ड स्कुल मोटरसाइकल’ क्लवले महाशिवरात्रीको अवसर पारेर काठमाडौं–लमजुङ राइनसकोट बुलेट राइड सम्पन्न गरेको छ। २५ वटा रोयल इनफिल्ड मोटरसाइकलमा ४० जना राइडर सहभागी भएको उक्त यात्रामा करिब ३८० किलोमिटर दूरी तय गरिएको थियो।
राइड केवल साहसिक यात्रा मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको कार्यक्रमका रूपमा सञ्चालन गरिएको क्लवले जनाएको छ। राइनसकोट महादेवको दर्शनपछि टोलीले लालीगुराँस प्राथमिक विद्यालयमा अध्ययनरत ३५ जना बालबालिकालाई न्यानो ज्याकेट, स्कुल जुत्ता, टोपी, वर्षभरि पुग्ने कलम, कापी, ज्यामिती बक्स तथा पुस्तकालय सामग्री वितरण गरेको थियो।
राइडको नेतृत्व क्याप्टेन अंकुर आर्यले गरेका थिए। सहयोग वितरण कार्यक्रमको व्यवस्थापन अमित गुरुङले सम्हालेका थिए भने यात्रा अवधिभर मोटरसाइकल मर्मत र आपतकालीन प्राविधिक सहयोगको जिम्मेवारी नुरहुदा आलमले लिएका थिए। तीनै जना ‘दि वल्ड स्कुल मोटरसाइकल’का सञ्चालक हुन्।
समापन कार्यक्रममा क्याप्टेन आर्यले आगामी दिनमा पनि नियमित रूपमा यस्ता बुलेट राइड आयोजना गरिने जानकारी दिए। उनका अनुसार हरेक राइडलाई सामाजिक सहयोग र स्थानीय पर्यटन प्रवद्र्धनसँग जोड्ने लक्ष्य राखिएको छ।
‘दि वल्ड स्कुल मोटरसाइकल’ रोयल इनफिल्ड मोटरसाइकलको सर्भिसिङमा केन्द्रित नेपालकै उदयीमान कम्पनी हो। एक वर्षअघि सञ्चालनमा आएको यस सर्भिस सेन्टरले गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। कम्पनीले हरेक ६ महिनामा बुलेट राइड आयोजना गर्ने योजना अघि सारेको छ, जसले ब्रान्ड पहिचान विस्तार गर्नुका साथै ग्राहकसँग प्रत्यक्ष सम्बन्ध सुदृढ गर्ने रणनीति पनि समेटेको छ।
राइडमार्फत मोटरसाइकल संस्कृतिको प्रवद्र्धन, सामाजिक योगदान र पर्यटन प्रोत्साहनलाई एकसाथ अघि बढाइएको क्लवले जनाएको छ।





























प्रतिक्रिया