भोजपुर। टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गको समग्र विकासमा जोड दिंदै यसलाई प्रकृति र संस्कृतिको विशिष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाएको छ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार पदमार्ग विकास गर्दा वन क्षेत्रको जैविक विविधता र किराँत समुदायको मौलिक परम्परा संरक्षणमा विशेष ध्यान दिइएको छ। “प्रकृतिको संरक्षण नगरी पर्यटन सम्भव छैन, त्यसैले संस्कृति र पर्यावरणलाई सँगै प्रवद्र्धन गरेका छौँ,” अध्यक्ष बस्नेतले बताए।
पदमार्गमा किराँत राई समुदायको ‘मुन्दुम’ परम्परा, सांस्कृतिक संरचना, धार्मिक स्थल, ठूला घाँसे मैदान, चौरी र भेडीगोठ, स्थानीय जीवनशैली र परिकार अवलोकन गर्न सकिन्छ। यहाँबाट सगरमाथा, मकालु र कञ्चनजंघा हिमशृङ्खलाको मनोरम दृश्य पनि देख्न सकिन्छ।
पदमार्ग आसपास हाल विश्रामस्थल, धारा, सूचना बोर्ड र पर्यटन सूचना केन्द्र जस्ता पूर्वाधार निर्माण गरिएको छ। गाउँपालिकाले स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जन बढाउने र पर्यटकलाई मौलिक अनुभव प्रदान गर्ने लक्ष्य पनि लिएको छ।
मुन्दुम पदमार्ग यसरी प्रकृति संरक्षण, सांस्कृतिक पहिचान र दिगो पर्यटन विकासलाई सँगसँगै अघि बढाउँदै पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।































प्रतिक्रिया