चितवन। चितवन राष्ट्रिय निकुञ्जमा गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन बढेको छ। चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको संख्या १२ हजार ४१२ ले बढेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिए भने यस वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक आएका छन्। यो संख्या गत वर्ष ८१ हजार २४६ थियो।
यसैगरी सार्क मुलुकका ९ हजार ५४४ जना र अन्य देशका ५५ हजार ५५ जना पर्यटकले यस वर्ष निकुञ्ज भ्रमण गरेका छन्। गत वर्ष यो संख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो।
निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायतका वन्यजन्तु र चराचुरुङ्गी अवलोकनका लागि पर्यटक आउने गर्छन्। चालु आर्थिक वर्षमा निकुञ्जले रु १७ करोड ५७ लाख ५६ हजार ३२५ राजस्व सङ्कलन गरेको छ।
राजस्वमध्ये काठ दाउरा बिक्रीबाट रु ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबाट रु ७० लाख ६८ हजार ७६६, पर्यापर्यटनबाट रु १६ करोड ६३ लाख २४ हजार १००, दण्ड सजायबाट रु सात लाख ५९ हजार ७०४ र अन्य शीर्षकबाट रु १५ लाख २२ हजार ४०५ सङ्कलन भएको निकुञ्जले जनाएको छ।































प्रतिक्रिया